भद्रपुरः झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको छैन ।

दिनहुँ हजारौँ यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने सो क्षेत्र महेन्द्र राजमार्ग र भद्रपुर तथा अर्जुनधारा जोड्ने सडकको चौबाटो हो । चोकबाट दक्षिणतिर भद्रपुर जाने सडकको मुखैमा सडकमा ढल बग्ने गरेको छ । यहीबाट यातायातका साधान तथा पैदलयात्री दुर्गन्धित पानी छिचोल्दै आउजाउ गर्न बाध्य छन् ।

यातायातका साधनले ढलको पानी छ्याप्दै हिँड्ने गरेकाले आफूहरुले नाक थुनेर बस्नुपरेको सो चोक दक्षिणतिरका व्यापारीको गुनासो छ । “छि भन्दै ग्राहक तर्किने गर्छन्”, स्थानीय कपडा पसले युवराज ओली भन्नुहुन्छ, “नगरपालिका, खानेपानी र वाणिज्य सङ्घ सबैलाई भनिसक्यौँ, कसैले समस्या सुनेनन् ।” विर्तामोड–४ स्थित सबैभन्दा ठूलो व्यापारिक भवन हनुमान सेन्ट्रल, थापा मार्केटलगायत इलाका प्रहरी कार्यालय पश्चिमका दर्जनौँ घर तथा व्यापारिक प्रतिष्ठानबाट निस्कने फोहर मिश्रित पानी ढलमा जाम भएर सो चोकको सडकमा बगेको हो । होटल, बेकरीलगायतबाट निस्कने सडेगलेको खाद्यवस्तु नालीमा जाम भएर सडकमा निस्कँदा दिसापिसाबजन्य फोहरझैँ दुर्गन्ध फैलिने गरेको छ ।

डेढ वर्षअघि विर्तामोडको भद्रपुररोडमा पुनःनिर्माणका लागि डोजर चलाउँदा ढलको निकास अवरुद्ध भएको थियो । त्यसपछि अवरुद्ध ढलको दुर्गन्धित फोहरपानी ओभरफ्लो भएर सो चोकमै बग्न थालेको विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डे जानकारी दिए । ढल अवरुद्ध भएर सो चोक गन्हाएको बारेमा जानकार नगरपालिकासमेत यति लामो अवधिसम्म रमिते बनेकोमा स्थानीयवासी आक्रोशित छन् । सोही दुर्गन्धित सडक पार गरेर नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा, प्रवक्ता पाण्डेलगायतका जनप्रतिनिधि दिनहुँ नगरपालिका कार्यालय ओहोरदोहोर गर्छन्।

स्थानीय व्यवसायी युवराज ओलीले हनुमान सेन्ट्रलले सेफ्टी ट्याङ्कीबाट ओभरफ्लो भएको दुर्गन्धित फोहर ढलमा मिसाएको र त्यसले सोचोकमा समस्या निम्त्याएको आरोप लगाए। पीडित व्यवसायी यो समस्याको समाधानका लागि हनुमान सेन्ट्रलको व्यवस्थापन, वडा कार्यालय र नगरपालिका कार्यालय पुगिसकेका छन् । ढल निकासको उचित व्यवस्था नगरिए दुर्गन्धका कारण रोगव्याध फैलिने त्रासमा छन् स्थानीय ।

हनुमान सेन्ट्रलका व्यवस्थापक प्रेम ओलीले आफ्नो व्यापारिक प्रतिष्ठानको बेकरी, होटल, हातधुने ठाउँलगायतबाट निस्कने पानी सडकको ढलमा मिसाइएको स्वीकार गरेता पनि शौचालयको फोहर मिसाइएको आरोप भने गलत भएको बताए ।
fohor
“हाम्रो बिल्डिङको अन्डरग्राउन्ड सेफ्टी ट्याङ्कीबाट दुई दुई महिनामा लेदोजन्य फोहर निकालेर अन्यत्रै बिसर्जन गरिँदै आएको छ”, उनि भन्छन्, “नालीमा कुहिएका खाद्यवस्तुले दुर्गन्ध निम्त्याएको हो, शैचालयको ओभरफ्लो मिसाउने गैरजिम्मेवार कामको कल्पनासमेत गर्न सकिँदैन ।” जतिसक्दो चाँडो ढलको निकास दिने कार्य अघि बढाउँदा समस्याको समाधान हुने जनाउँदै त्यस्तो कार्यमा हनुमान सेन्ट्रल सघाउन तयार रहेको सेन्ट्रलका व्यवस्थापक ओलीले बताए।

विर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव मेघराज बाँस्तोलाले आफ्नो समितिले पानी र त्यससँग जोडिएको सरसफाइ हेर्ने बताए । ढलको निकास समितिको कार्य क्षेत्रभित्र नपर्ने उनको भनाइ छ । मुक्तिचोकको सडकमा बगिरहेको ढलको फोहरमा खानेपानीको पाइप नमिसिएको उनले जानकारी दिए ।
विर्तामोड नगरपालिकाका प्रवक्ता पाण्डेले आगामी असार महिना लाग्नुभन्दा अघि नै ढल निकासको व्यवस्था गरेर मुक्तिचोकको दुर्गन्ध हटाउने नगरपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।