धरानः पछिल्लो समय चर्चित बन्दै गएको गायन प्रतियोगिता द भ्वाईस अफ सिजन २ का विजेता सहितको टोलिले धरानमा स्नायु रोग पिडित रुद्र बस्नेतको सहयोगार्थ धरानलाई सांगितिक मनोरञ्जन दिए ।
पूर्वाञ्चल टुरमा रहेको ‘द भ्वाईस अफ सिजन २’ विजेता सहित ७ जनाले धराने भोटर्सहरुलाई प्रत्यक्ष प्रस्तुती दिएका थिए । रेडियो धरानको आयोजनामा धरान १२ स्थित पब्लीक माविको मैदानमा स्नायु रोगबाट पिडित धरान १३ का रुद्र बस्नेतको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा फाइनालिष्ट विकास लिम्बुले कोच दीप श्रेष्ठको ‘मेरो आँखामा..’ बोलको गीतबाट कार्यक्रमको शुरुवात गरेका थिए । त्यसपछि उनले लगातार ‘जति माया लाए पनि’ ‘सायद तिम्रो बाटोमा’ लगायतका गीत गाएका थिए ।
यसैगरी ‘द भ्वाइस’का टप १२ पर्न सफल भएकी अञ्जु राना मगरले ‘फर्कि फर्कि नहेर मलाई’, ‘जब तिमी कसैलाई..’ बोलको गीत प्रस्तुत गरेकी थिइन् भने टिम आस्थाका फाइनालिष्ट आरिफ रायले विपुल क्षेत्रीको गीत ‘अल्लारे जोवन..’ बाट शुरुवात गरेका थिए । त्यसपछि उनले गायक राजु लामाको चर्चित गीत ‘तिमीलाई देखेर.., पखाईमा भिज्यो सिरानी’ गाएका थिए भने अन्तमा ब्लाइण्ड अडिसनको ‘उडायो हावाले‘’ बोलको गीत गाएका थिए ।
कार्यक्रममा फाइनालिष्ट शनिस श्रेष्ठले ब्लाइण्ड अडिसनमा गाएको गीत ‘लै लैं’ बाट शुरुवात गरेका थिए । त्यसपश्चात उनले अञ्जु राना मगरसँग डुएट गीत ‘आहै मिठो तिम्रो मुस्कानैमा..’ गाएका थिए भने अन्तमा दीपक बज्रचार्यको ‘काली काली हिस्सी परेकी..’ गाए ।
सांगीतिक कार्यक्रममा याङ्की यल्मोले मन्त्र ब्याण्डको ‘संँधै सँधैं..’ बोलको गीतबाट शुरु गर्दै सविन राईको ‘तिमी नै हौ..’ र गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी ..’ बोलको गीत प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमका मुख्य आकर्षक विन्दु भ्वाइस अफ नेपाल सिजन २ बिजेता राम लिम्बु अन्तिममा स्टेजमा उक्लिए । उनले ‘यो जिन्दगानी.., सुन साईंली.., रेशम.. र अन्तमा धराने गायक सविन राईको चर्चित गीत ‘गुराँसको फेदमुनी..’ गाएका थिए । कार्यक्रमको अन्तमा पूर्वाञ्चल टुरमा निस्किएका सम्पूर्ण गायकहरुले समुहिक रूपमा ‘यो मन त मेरो नेपाली हो..’ गाएका थिए ।
डिजे स्याडोको डिजेइङबाट शुरु गरिएको कार्यक्रमलाई अन्तमा डिजे स्याडोले नै हिन्दी तथा नेपाली गीतको डिजेइङबाट कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा संकलित ३० हजार र विभिन्न सहयोगीहरुले प्रदान गरेको रकम १० हजार थप गरी ४० हजार रुपैयाँ स्नायु रोगबाट पीडित रुद्र बस्नेतलाई प्रदान गरिएको थियो ।