सुन्दरहरैंचा(मोरङ)ः मोरङमा चारकोसे झाँडीसंगै सटिएको छ, बाघझोडा सिमसार क्षेत्र पनि । जिल्लाका अरु सिमसारमा यतिबेला वनभोज खाने र घुम्न जानेको थेगिनसक्नु भींड छ । तर, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा अवस्थित बाघझोडा सिमसार भने सुनसान देखिन्छ । चारकोसे बाक्लो जंगलसंगै टाँस्सिएको यो क्षेत्र प्राकृतिक रुपमा अन्य सिमसार भन्दा कम छैन । ठाँठाउँमा बस्नका लागि काठका फलैंचा निर्माण गरिएको छ । वनभोज खाने पनि स्थल छ । चरा र वन्यजन्तु प्रशस्तै पाइन्छन ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिव ढकालका अनुसार बाघझोडामा संसारमै नपाइने दुर्लभ जातको कछुवा पनि पाइन्छ । पानीको मुहान र स्रोत छ । सामुदायिक वनले छाडिदिएको जमिन छ । धार्मिक वनले दिएको जग्गा पनि छ । त्यहाँ धिमाल जातिका कुलदेवताको मन्दिर छ । हरेक वर्ष झापा, मोरङ र सुनसरीका धिमालहरु बैसाख महिनामा मेला भर्न बाघझोडा आउने गर्छन । अरुबेला पनि उनीहरु आफूहरुको पवित्रस्थलमा घुमफिर गर्न समूह बनाएर आउने गरेका छन् । स्थानीय झमक कार्की भन्छन्,‘‘बाघझोडाबाट जंगल, सिसार र पोखरीको आकर्षक दृश्य देख्न सकिन्छ । वन्यजन्तु र विभिन्न जातका चरासमेत अवलोकन गर्न मिल्छ ।’’
तर, प्रचार प्रसार अभाव र मौजुदा समितिको निस्कृयताका कारण सिमसार क्षेत्रमा जुन ढंगले पर्यटकहरु पुग्नु पर्दथ्यो त्यो हुन सकेको छैन । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिव ढकालका अनुसार यो क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने नगरपालिकाको योजना छ । यसको लागि केही कामसमेत आरम्भ भएको छ । ढकाल भन्छन्,‘‘तर, सिमसार संरक्षण गर्न भन्दै स्थानीय तह निर्वाचन पूर्व नै गठन भएको समितिको निष्कृयताका कारण यो ठाउँको योजनागत विकास गर्न सकिएको छैन ।’’ ढकालले सुन्दरहरैंचामै अवस्थित हसिना सिमसार जत्तिकै महत्वको बाघझोडा पनि रहेको सुनाए । समितिमार्फत सबै काम गराउन चाहन्छन् । डिपिआरसम्म गर्न दिने तय भएको ढकालले बताए । उनले संघीय सरकार, प्रदेश वा नगरपालिकाले समेत लगानी गरेर यो क्षेत्रको बृहत्तर विकास गर्ने योजना बनाएको सुनाए ।
दश बिघा क्षेत्रमा फैलिएको बाघझोडा विशिष्ट प्राकृतिक मनोरमता भएको क्षेत्र हो । सिमसार पोखरीमा विभिन्न जातका माछा पाइन्छ । पूर्वमा बासुकी पोखरी निर्माण हुँदैछ । करिब ३० बिघामा निर्माणाधीन पोखरीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत काम भइरहेको छ । नौका बिहारको लागि पनि बाघझोडा उपयुक्त छ । ‘‘हसिना सिमसारमा मात्र सुन्दरहरैंचा नगरपालिकाले रु. ३ करोड खर्च गरिसकेको छ’’, ढकाल भन्छन्, ‘‘अब हाम्रो ध्यान बाघझोडामा छ । यो ठाउँमा पर्यटकीय गतिविधि बढाउने हाम्रो तयारी छ ।’’



















