इटहरीःसुनसरीको इटहरी उपमहानगरपालिका ३ बौकाझोडाको बनक्षेत्र भित्र अवैध उत्खनन् भइरहेको छ ।
इटहरी उपमहानगरपालिका ३ बौकाझोडा भएर बग्ने शेरा खोलामा बनक्षेत्र भित्र अनधिकृत रुपमा उत्खनन् भइरहेको हो । अहिले शेराखोलामा २४ घण्टा नै दुईवटा स्काभेटर प्रयोग गरेर उत्खनन् गर्ने गरेको पाइएको छ ।
बनक्षेत्रमा ढुंगा गिटी निकाल्न नपाईने भएपनि इटहरी उपमहानगरपालिकाले ऐन नै मिचेर बनक्षेत्र भित्र ठेक्का लगाएको छ । स्थानीय युवाहरुले उत्खनन् तत्काल रोक्न इटहरी उपमहानगरपालिकामा ध्यानाकर्षण गर्दै निवेदन समेत दिएका छन् । तर उपमहानगरले यस बिषयमा आफ्नो कुनै प्रतिकृया दिएको छैन ।
स्थानीयहरुले उपमहानगरले अवैध उत्खनन् गरेको बिषयमा चासो नदिएको आरोप लगाएका छन् । स्थानीयबासीको बिरोधका बावजुत हालपनि बनक्षेत्र भित्र उत्खनन् जारी रहेको छ । शेरा खोलामा बर्षेर्नी आउने बाढिका कारण इटहरी ३ को प्रगती टोल, तामाङ टोलको अधिकांश बस्ती र खेतियोग्य जमिन डुबान हुने गरेको छ ।
हालको उत्खनन्का कारण ति टोलहरु भासिने एवं बन क्षेत्रमा नै खोला खनिएका कारण भुक्षय भई बस्तीहरु जोखिममा पर्ने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । दिनदहाडै खोला दोहन भईरहँदा पनि स्थानीय वडाका जनप्रतिनिधी, स्थानीय प्रहरी, उत्खनन् जारी रहेको सरस्वती सामुदायीक बनका पदाधिकारी, इटहरी उपमहानगरपालिका कानमा तेल हालेर बसेका छन ।
यस बिषयमा स्थानीयबासीले केहिदिन अगाडी बिरोध गरेर खोलामा हल्लीखल्लि मच्चाएपछि वडा प्रतिनिधी, बनका कर्मचारी एवं स्थानीय प्रहरीले खोलाको अनुगमन गरेको नाटक मञ्चन गरेपनि अहिले पनि उत्खनन् जारी छ ।