बिराटनगर : प्रदेश नं १ का १४ वटै जिल्लामा कूल ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान उत्पादन भएको छ । गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९२५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । यो पाँच दशमलव २५ प्रतिशतले कम उत्पादन हो ।

धानको उत्पादन कम हुनाका कारण खडेरी लाग्नु, किसानले समयमै रासायनिक मल नपाउनु र फौजी कीराको प्रकोप बढ््नुका कारण उत्पादन कम भएको निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले जानकारी दिनुभयो । प्रदेशभरिमा धानको उत्पादकत्व तीन दशमलव ७४४ प्रतिहेक्टर हो । रोपाइँ ९३ दशमलव ९३ प्रतिशत भएको थियो । धान तीन लाख २० हजार १३४ हेक्टर जग्गामा लगाइएको थियो ।

समग्रमा हेर्दा सुनसरी, मोरङ र झापाको उत्पादन हेर्दा सबैभन्दा राम्रो देखिन्छ । यी तीन जिल्लाको कूल उत्पादन नौ लाख ३५ हजार ३७१ मेट्रिकटन हो । उत्पादकत्व झापाको चार दशमलव पाँच, मोरङको चार दशमलव एक र सुनसरीको चार दशमलव एक छन् । प्रदेश नं १ को पहाडका ११ जिल्ला र तराईका तीन जिल्लाको उत्पादनलाई तुलना गर्दा तराईको उत्पादन अत्यन्त राम्रो देखिन्छ । पहाडका जिल्लाको कूल उत्पादन दुई लाख ६३ हजार ३६९ मेट्रिकटन हो । उत्पादकत्व सबैभन्दा बढी झापाको चार दशमलव पाँच र सबैभन्दा कम खोटाङको एक दशमलव ७५ रहेको पाइएको छ ।