इलामः खुलेको आकाश । चाँदि झै टल्कीएको हिउँ र हिमाल । त्यसमा पनि घामको टकले झनै चम्किलो बनेको दृश्य । त्यही चाँदिझै देखिने हिउँमा रमाएका पर्यटक । जति नै चिसो भएपनि चिसोको महशुस नहुने शौन्दर्यता । त्यसमै रमिरहेका थिए पर्यटकहरु ।
इलामको फाकफोकथुम गाउँपालिकाका मदन दियाली हिउँमा खेल्नकै लागी इलामबाट पाँचथरको साधुटार पुगे । उनलाई पानि परे पछि झरेको हिउँमा खेल्ने निकै रहर थियो । त्यही रहरले नै उनि साधुटार पुगे । उनी साधुटार पुग्दा आफूले सोचेजस्तै हिउँपाए र खुसिसाथ हिउमा रमाए ।
उनी सँगै गएका पाँच जना साथिहरु पनि मदन सँगै हिउँमा खेलीरहेका थिए । उनी मात्र होइन इलाम र पाँचथरको सिमाना नजिकै पर्ने साधुटारमा हजारौ आन्तरिक पर्यटक रमाइरहेका थिए भने न्यूजरलेण्डका एक पर्यटक पनि हिउँ खेलेको हेर्दै रमाइरहेका थिए ।
नेपाल भ्रमण २०२० को शुरु सँगै पर्यटकमा खुसियाली हुन थालेको छ । भ्रमण वर्ष शुरु भएसँगै वर्षा पछि परेकोे हिउँले पर्यटकमा खुसियाली छाउन थालेको छ ।
हिउँमा चिसोको प्रवाह नै नगरी हिउँसँग रमाउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको पाइन्छ । इलाम र पाँचथरको केही भागको जनजिवन प्रभावित बनेको छ भने साधुटारमा हिउँ खेल्न पर्यटकको भिड लागेको देखिन्थ्यो । पानी परेसँगै भएको बाक्लो हिमपात भएपछि जनजिवन प्रभावित त बनेको छ नै तर पनि पर्यटक भने हिउँखेल्नमा भिड लागेको छ ।
घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका थिए । रमाइलो भएको भन्दै विदेशी पर्यटक पनि हिउँमा रमाइरहेका छन ।
पानि परेसँगै झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । पौवा भन्ज्याङ आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।

Ice-Sandakpur
बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् ।
हिउँ परेपछि सडकमा आवतजावत सवारीसाधनमा भने समस्या आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् ।
हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् । हिमपात पछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन । यस क्षेत्रमा घर बाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । बाक्लो हिउँ जमेकाले केही दिन सवारीसाधन चल्न कठिन भएको छ । गैरीबास क्षेत्रमा गाडी हिउँ पार गर्न नसकेर रोकिएका छन् । गैरीबासदेखि फाटकसम्मको क्षेत्रमा घनाजंगल भएकाले हिउँ नपग्लिएका कारण यातायात अवरुद्ध भएको हो ।
हिउँपरेपछि घाम लागेर हिउँ पग्लन थालेपछि सडक चिप्लो भएकाले जोखिम बढेको हो । ‘मुस्किलले केही गाडी मात्र आउजाउ गरिरहेका छन । ठुला सवारी भन्दा साना सवारी साधन चिप्लिएर यात्रा गर्न समस्या भएको छ । राँके क्षेत्रमा हिउँ परेपछि खेल्न जानेको संख्या बढेको छ ।