इटहरीः सूर्योदयको जिल्ला भनेर चिनिने इलामबाट सङ्गीत जागरण अभियान शुरु हुने भएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा असोज ११ र १२ गते सङ्गीत जागरण अभियान सञ्चालन हुन लागेको हो ।

प्रदेश नं १ का १४ वटै जिल्ला समेट्ने गरी इलाम (सूर्योदयको जिल्ला)बाट सो अभियान शुरु गरिने गीतकार सङ्घ नेपालका अध्यक्ष चुणामणि देवकोटाले जानकारी दिए । कार्यक्रममा प्रदेश १ को साथै भारतको सिक्किम, दार्जिलिङ लगायत विभिन्न स्थानका गीतकारको उपस्थिति रहने उनको भनाइ थियो ।

‘गीतसङ्गीतमा शक्ति हुन्छ तर त्यसको दुरुपयोग भइरहेको छ । एकातिर आमा, दिदीबहिनीहरू दैनिकजसो पीडामा परिहरन्छन् भने अर्कातिर सङ्गीतमा यौन मात्र समेटिन थालेको छ,’ उनी भन्छन्, ‘त्यसैले हामीले हाम्रो सामाजिक दायित्व पूरा गर्नको लागि सङ्गीतप्रति युवा पुस्ता र सर्जकहरूलाई सचेत गराउन जरुरी ठानेका हौँ ।’

दोहोरो अर्थ लाग्ने शब्दावलीको प्रयोगले सङ्ीतप्रतिको हेराइ गलत बन्दै गएको उनको भनाइ थियो । प्रदेश नं १ बाट शुरु भएको जागरण अभियान सात वटै प्रदेशमा फैलाउने योजना रहेको उनले बताए ।

नेपाली गीत लेखनलाई थप परिष्कृत बनाउनका लागि र सामाजिक विकृति फैलाउने शब्दहरूको प्रयोगलाई रोक्न पनि यो कार्यक्रम प्रभावकारी हुनेमा देवकोटा विश्वस्त देखिन्छन् ।

सो कार्यक्रममार्फत् गाउँगाउँमा लुकेर बसेका प्रतिभालाई अगाडि ल्याउने योजना रहेको उनले सुनाए । कार्यक्रम ४ भागमा विभाजन गरेर सञ्चालन गरिने उनको भनाइ थियो । उद्घाटन, कार्यपत्र प्रस्तुति, १ नं प्रदेशको संस्कृतिक भाकाको जानकारी तथा प्रस्तुति र कार्यक्रमको समीक्षासहित प्रतिवेदन तयार पारेर कार्यक्रम समापन गरिने उनले बताए ।

पछिल्लो समय पेचिलो बन्दै गएको रोयल्टीको विषयमा पनि केही नयाँ योजना बन्न सक्ने उनले जानकारी दिए ।