इटहरीः तीनतिर खोला र एकतिर जङ्गलले घेरिएको इटहरीको एक्लो गाउँ हो खोर्साने खाप । खोर्साने खाप इटहरीको वडा नम्बर ३ मा पर्छ । यसको पूर्वतिर बुढी खोला पर्छ, पश्चिमतिर सेरा खोला छ भने दक्षिणमा सेरा र बुढी खोलाको दोभान पर्छ । उत्तरमा भने चारकोशे झाडीको सरस्वती सामुदायिक वन पर्छ ।

यसरी तीनतिर खोला र एकतिर जङ्गल भएको र बीचमा टापु भएर बसेको यो क्षेत्रलाई अर्धटापु अर्थात् सेमिआइल्याण्ड पनि भनिन्छ ।
अरुबेला बर्खाको समयमा सेरा खोला पार गरेर जान नसकिने खोर्साने खापमा आजकाल पुल बनेपछि जान सहज भएको वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बिष्ट बताउँछन् । सेरा खोलामा पुल बनेर खोर्साने खाप जान सहज भए पनि जङ्गलबाट आउने जङ्गली जनावर र बुढी खोलाको जोखिम भने उत्तिकै छ । ६० घरको ३ सय बढी जनसङ्ख्या भएको खोर्साने खाप इटहरीभित्रकै ‘कर्णाली’ भन्ने गरिन्छ ।

३० हेक्टर क्षेत्रमा फैलिएको खोर्सानेखाप गाउँको सबै जग्गा ऐलानी छ । यहाँ अर्गानिक खेती गरेर इको लज र होमस्टे सञ्चालन गर्न सकिने जानकारहरू बताउँछन् । यो क्षेत्रमा वातावरणमैत्री बृहत्त सेमिनार हल तथा पार्कका साथै अन्य पर्यटकीय मनोरञ्जनका खुराक पनि दिन सकिने इटहरीका पर्यटनकर्मी सुनिल भुसाल बताउँछन् । खोर्साने खापमा मौलिक ग्रामीण तथा मनोरञ्जनात्क पर्यटन प्याकेज दिएमा स्थानीय सर्वसाधारण र स्थानीय सरकार दुवैलाई फाइदा हुने भुसालको तर्क छ ।

पर्यटनकर्मको लागि केही वर्ष अगाडि खोर्सानेखापमा होमस्टे सञ्चालनको प्रयास पनि भएको थियो । तर, हाल उक्त होमस्टे सञ्ंचालनमा छैन । इटहरीको मुक्तिघाटदेखि बुढी खोलाको पानी जमाएर तालतलैयामा सञ्चालनमा रहेजस्तै मोटरबोट चलाएर खोर्सानेखापसम्म लान सकिने अवधारणा पनि इटहरीमा चर्चामा छ ।

khorsane khap (6) khorsane khap (1) khorsane khap (4) khorsane khap (7) khorsane khap (2) khorsane khap (5) khorsane khap (8) khorsane khap (10) khorsane khap (9) khorsane khap (11)