सङ्घर्ष र चुनौतीको सम्मिश्रण हो, जीवन । जीवनमा आइपर्ने समस्या र चुनौतीको सामना गर्दै सङ्घर्षमय जीवन बाँच्ने व्यक्ति मात्र सफल बन्न सक्छ । सकारात्मक सोचका अभियन्ता र जीवनलाई उत्सवजस्तै मनाउनुपर्छ भन्नेहरू यसै भन्छन् ।

प्रखर कवि तथा आख्यानकार प्रगति राई पनि आफ्नो नयाँ औपन्यासिक कृतिमा यस्तै सन्देश दिन्छिन् । चुनौतीसँग हारेर होइन, चुनौतीलाई पराजय गरेर अगाडि बढ्नुपर्छ भन्ने अठोट र सकारात्मक परिवर्तन बोकेको छ उनको ‘बिर्सिएको मृत्यु’ उपन्यासले ।

लेखक प्रगति राईको यो तेस्रो कृति हो । उनका अघिल्ला कृतिहरू ‘लेखककी स्वास्नी’ र ‘वादी विज्ञप्ति’ हुन् । प्राकृतिक विपत्ति र त्यसले मानिसको जीवनमा निम्त्याउने समस्या र गर्नुपर्ने सङ्घर्षमा आधारित छ पुस्तक । इन्डिगो इन्क प्रालि काठमाडौंद्वारा २०७४ मा प्रकाशित उपन्यास २ सय १ पृष्ठको छ ।

उपन्यास भूकम्पजस्ता प्राकृतिक विपत्तिले नेपाली समाज र नेपाली जनजीवनमा पर्न गएको असह्य पीडालाई आधार बनाएर लेखिएको छ । कथाको प्रमुख पात्र पर्शुराम छ । जसको भूकम्पका कारण सबै सम्पत्ति सकिन्छ । घरपरिवारलाई नेपालमा राखेर धन कमाउन विदेश पलायन भएको पर्शुरामको सबै भौतिक सुख, पारिवारिक सुख भूकम्पले लुट्छ ।

भौतिक सुखसयल र शहरमुखी प्रवृत्तिमा रमाउने पर्शुराम जीवनसँग हार मानेर मृत्युका बाटाहरू कल्पना गर्न थाल्छ । सधैंझैँ पर्शुराम दुःख र सुखको साथी मधुरामसँग आफ्नो समय व्यतीत गर्न थाल्छ । प्रत्येक समय मृत्यु खोजेर बाँचिरहेको पर्शुरामका कुराले मधुराम पनि दिक्क भइसकेको थियो । पारिवारिक बिछोडले विरक्तिएर मृत्युलाई समेत अँगाल्न तयार भएको पर्शुरामलाई जीवनप्रेमी बनाउन मधुराम दैनिक सोचिरहन्थ्यो ।

लेखनलाई अलि माया गर्ने पर्शुराम आफ्ना मनका भावनालाई शब्दमा उतारेर तिनै शब्दभित्र आफ्नो समय व्यतीत गर्छ । बिस्तारै लेखनमार्फत् पर्शुरामले पाएको अवसर र गरेको सङ्घर्षले विगतलाई भुलाएर हाँसो र खुशीमा बाँच्न सिकाउँछ । अन्ततः हिजो जीवनसँग हारेको पर्शुराम एक सफल र जीवनप्रेमी व्यक्ति बन्छ ।

Book Birsieko Mrityu
उपन्यासकार राईले उपन्यासमा ग्रामीण जीवनमा मौलाइरहेको शहरिया प्रवृत्ति देखाएकी छिन् । प्रत्येक मानिसले जीवनमा सुखद क्षणसँगै दुःखको पनि सामना नडराई गर्न सक्नुपर्छ भन्ने विषयलाई उपन्यासमा उठाइएको छ ।

वैदेशिक पलायनले निम्त्याएको दुःख र आतङ्कले मानिसको मस्तिष्कमा आउने हीनताबोधी विचारहरू जसले मानिसलाई मृत्युको मुख देखाउन सक्छ । दुःखसँग डटेर सङ्घर्ष गर्दा जीवन सार्थक र सफल बनाउन सकिन्छ भन्ने विषयलाई पनि उठाइएको छ ।

आम मानिसले सोचिरहेको वर्तमानलाई लेखकले फरक ढङ्गले बुझ्छिन् । यो उनको लेखकीय क्षमता हो । ‘बिर्सिएको मृत्यु’ मा भूकम्पपीडित नेपालीले भोग्नुपरेको दुःख र सङ्घर्षलाई जीवन्त रूपमा देखाइएको छ । समस्याको समाधान खोज्न सकियो भने मात्र जीवन सफल बन्ने विषयलाई पर्शुराममार्फत् दर्शाइएको छ । उपन्यासमा प्रयोग भएको नेपाली भाषामा केही शब्दहरूमा कतैकतै अशुद्धता पाइए पनि शब्दको भाषिक अर्थ प्रयोगशील, स्पष्ट र सरल छ ।