झापाः पछिल्लो समय झापामा जङ्गली हात्ती मर्ने क्रम बढ्दो मात्रामा रहेको छ । डिभिजन वन कार्यालय झापाको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष एउटा हात्ती मर्ने गरेको देखिन्छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भने २ महिनाको अवधिमै २ वटा जङ्गली हात्तीको मृत्यु भएको छ । दुवै हात्ती मेचीनगरमा मरेका हुन् । आर्थिक वर्षको शुरुमै झापाको मेचीनगर–३ स्थित पाँचपोखरी सामुदायिक वन परिसरमा एउटा हात्ती मृत फेला परेको थियो ।

त्यसको एक महिना पनि बित्न नपाउँदै बिहीबार मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन बीट नम्बर २ नजिक स्थानीय रोहितकुमार ढुङ्गानाको खेतमा वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीयवासीले दारा जोतिएको अवस्थामा मृत हात्ती देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर गरेका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दारा चितवन राष्ट्रिय निकुञ्ज पठाइयो
हात्तीको दारा खेतको हिलोमा जोतिएका कारण कसैले लैजान नपाए पनि पुच्छर भने धेरै लगिएको बताइएको छ । त्यसपछि प्रहरीले डिभिजन वन कार्यालय झापामा घटनाका बारेमा जानकारी गराएको थियो ।
जिल्लाबाट चिकित्सकसहित जिल्ला वन कार्यालयको टोली आइपुगेको थियो । यो सँगै आर्थिक वर्ष २०६७÷ ०६८ देखि २०७५÷०७६ सम्म आइपुग्दा जिल्लामा १० वटा हात्ती मृत फेला परेको कार्यालयले जनाएको छ । स्थानीयका अनुसार उक्त हात्ती रैथाने हो ।

केही समय अघिदेखि उक्त एकल हात्तीले स्थानीयलाई निकै दुःख दिँदै आएको थियो । स्थानीयले लगाएको अन्नबाली खाएर र कुल्चिएर नष्ट गर्नुका साथै घर गोठमा समेत क्षति पु¥याएको जीतबहादुर कुँवरले बताए ।
‘साँझ पनि पर्न नपाउँदै यो हात्ती गाउँ पस्थ्यो । स्थानीयवासीको भागदौड मच्चिन्थ्यो’ कुँवरले भने, ‘खेदाउन गयो भने उल्टै मान्छेमाथि आक्रामक रूपमा आइलाग्थ्यो ।’ ३ वर्ष अघि कुँवरका बाबु डम्मरबहादुरको हात्तीको आक्रमणमा ज्यान गएको थियो ।

हात्तीले क्षति पु¥याएको बालीको राहतका लागि स्थानीय रोहितकुमार ढुङ्गाना ४ दिन अघिमात्र डिभिजन वन कार्यालय झापा पुगेका थिए । स्थानीयले मृत हात्तीको शिरमा पैसा चढाउँदै पूजाआजा समेत गरेका थिए ।

हात्ती नियन्त्रणका लागि तारबर
जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास सहायता कार्यक्रम अन्तर्गत १ करोड ३० लाख रुपैयाँको खर्चमा अत्याधुनिक तारबार सोलार फेन्सिङ निर्माण गरिएपछि हुलका हुल हात्ती नेपाल छिर्ने क्रम केही हदसम्म नियन्त्रण भए पनि मेचीनगरका विभिन्न सामुदायिक वनमा दर्जनौँ त्यस्ता रैथाने हात्तीले आफ्नो वासस्थान बनाएका छन् ।

तारबार इलामको जिर्मलेदेखि झापाको मेचीनगर–६ काँकरभिट्टासम्म १८ किलोमिटर क्षेत्रमा गरिएको छ । समुदायमा आधारित मानव– हात्ती द्वन्द्व व्यवस्थापन परियोजना अन्तर्गत तारबार निर्माण गरिएको हो ।
जङ्गली हात्तीको उपद्रो रोक्न बिछ्याएको विद्युतको तारबाट करेन्ट लागेर अधिकांश हात्तीको मृत्यु हुने गरेको आशङ्का सर्वसाधारणको छ । सहायक वन अधिकृत देवेन्द्र उप्रेती कति त बुढ्यौली र रोगका कारण पनि मर्ने गरेको बताउँछन् ।

करेन्टले हात्ती मरेको अनुमान
बिहीबार मृत अवस्थामा फेला परेको हात्तीको पनि करेन्टका कारण मृत्यु भएको हुन सक्ने पशु सेवा कार्यालय मेचीनगरका पशु विकास अधिकृत दिवाकान्त चौधरीले बताए । ‘हात्तीको घाँटीमुनि डढेजस्तो छ’ चौधरीले भने, ‘अन्यत्र यसलाई करेन्ट लागेको र यहाँसम्म आइपुग्दा ऊ कमजोर भइसकेका कारण मरेको हुन सक्छ ।’

यता डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत नथुनीप्रसाद गोइवार यादव उक्त हात्तीलाई करिब ५ देखि ६ सय मिटर अघि करेन्ट लागेको हुन सक्ने बताउँछन् । शरीरमा कुनै प्रकारका चोट पटक तथा नीलडाम नभएको उनले बताए ।
घटनाका बारेमा मुचुल्का तयार गरी पोस्टमार्टमसहित सोही ठाउँमा व्यवस्थित रूपमा गाडिएको र ३ दिनपछि पोस्टमार्टमको रिपोर्ट आउने चौधरीको भनाइ छ । एक महिना अघि मृत अवस्थामा फेला परेको हात्तीको पोस्टमार्टम रिपोर्ट आए पनि सडेगलेको अवस्थामा फेला परेकाले मृत्युको कारण नखुलेको कार्यालयको भनाइ छ ।