इटहरीः भिरालो क्षेत्रमा तारमा घिर्निजस्तै झर्ने खेललाई ‘जिप फ्लायर’ भनिन्छ । र, दक्षिण एसियाको सबैभन्दा अग्लो ‘जिप फ्लायर’ हो पोखराको सराङकोट देखी हेम्जा सम्मको ‘जिप फ्लायर’ । १८ सय साठी मिटर लामो यो ‘जिप फ्लायर’ २०६९ जेठ २० बाट नेपालको पहिलो सेवाप्रदायको रूपमा सञ्चालनमा आएको हो ।
यस्तैगरि, दक्षिण एसियाको हालसम्म सञ्चालनमा आएको दोस्रो लामो ‘जिप फ्लायर’ हो दक्षिण भारतीय राज्य केरेलामा रहेको कोलुकुमलाइ नामक ‘जिप फ्लायर’ । यसको लम्बाइ १८ सय मिटर भएको भारतीय मिडियाहरूले लेखेका छन् ।
यी दुई ‘जिप फ्लायर’ पछिको सबैभन्दा लामो ‘जिप फ्लायर’ बन्दैछ धनकुटाको भेडेटारमा । जसको नेतृत्व गर्दैछन दुई युवा उद्यमीहरू आसिस राई र किरण राई । भेडेटारको होटेल मेजेस्टिका सञ्चालक आसिस राई र सप्सरा रिसोर्टका सञ्चालक किरण राईले संयुक्त रूपमा प्रदेश १ मा पहिलोपटक ‘जिप फ्लायर’ सञ्चालनमा ल्याउन लागेका हुन ।
पोखरा र धुलिखेलपछि अब प्रदेश १ को भेडेटारमा नेपालको तेस्रो ‘जिप फ्लायर’ बन्ने भएको छ । धनकुटाको साँघुरिगढि गाउँपालिका ६ को खर्क डाँडामा १५ सय मिटर लम्बाइको ‘जिप फ्लायर’ बन्ने भएको छ । हालसम्म नेपालमा दक्षिण एसियाको सबैभन्दा लामो र नेपालको पहिलो पोखराको ‘जिप फ्लायर’ बाहेक धुलिखेलमा रहेको १३ सय मिटर लामो ‘जिप फ्लायर’ व्यवशायिक सञ्चालनमा छ ।
‘जिप फ्लायर’को तल्लो र माथिल्लो डाँडाको भिन्नता २४० मिटरको हुने र ‘लन्च प्याड’ खर्क डाँडाबाट हुने र कार्किछापमा ‘ल्यान्डिङ स्टेसन’ हुने व्यवसायी आसिस राईले बताए । राईका अनुसार ‘जिप फ्लायर’ सुरु र अन्त्य हुनै दुवै क्षेत्रमा पर्यटक क्लासका होटेल र पार्कहरू हुनेछन् ।
४ करोड हाराहारी लगानीमा बन्ने ‘जिप फ्लायर’ होटेल आठपहरिया प्रालिबाट लन्चप्याडबाट यात्रा सुरु भएर भेडेटार फन पार्कमा ल्यान्ड हुनेछ । व्यवसायीहरूका अनुसार नयाँ तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘जिप फ्लायर’ सञ्चालन हुनेछ ।