इटहरीः मोरङको इटहराका सुमन कार्की अहिले सङ्घीय राजधानी काठमाडांैमा जमेका युवा हास्यव्यङ्ग्यकार हुन् । काठमाडौंमा रहेको हास्यमूलक रेडियो ‘रेडियो अडियो’ मा २०७२ सालदेखि उनी जागिरे छन् ।
यसका साथै कार्की स्टेज शोहरूमा पनि उत्तिकै जमेका छन् । हालसालै गाईजात्राको अवसरमा ऋषि धमलासँग धमलाकै आवाजमा प्रश्नोत्तर गरेको कार्कीको भिडियो सामाजिक सञ्जालमा खुब चल्यो । त्यसअघि पनि उनका थुप्रै व्यङ्ग्य सामग्री सामाजिक सञ्जाल र रेडियोमा चलेका थिए । उनै कार्कीलाई प्रदेश पोर्टलले ५ वटा ¥यान्डम प्रश्न तेस्र्याएको छः

हास्य कलाकार भन्दा बढी नेताले हँसाउने मुलुकमा हास्य कलाकार हुन कत्तिको असहज छ ?
हाहाहा । प्रश्नमै व्यङ्ग्य । धान धेरै उत्पादन हुने देश अथवा जिल्लामा चामलको आवश्यता नै पर्दैन र ? देशमा धेरै कमेडी हुनु अनि जनता हाँस्नु त खुशीको कुरा हो नि । हास्य कलाकारलाई ‘कन्टेन्ट’ खोज्न पनि सजिलो हुन्छ ।

कसैको कमेडी गर्दा रिसाएको त्यस्तै कुनै अनुभव छ ?
खुशी भएको प्रतिक्रिया धेरै आउँछ तर रिसाएको चाहिँ अहिलेसम्म थाहा पाएको छैन ।

कमेडी गर्दा कत्तिको झ्याउ हुन्छ ?
कमेडी गर्दा नै त कहिल्यै पनि झ्याउ लाग्दैन । तर, दर्शक स्रोतालाई हँसाउने प्रयत्न गर्दा हाँस्नुभएन भने चाहिँ कहिलेकाहीँ झ्याउ पनि लाग्छ ।

तपाईं रेडियो र स्टेज दुवैमा जम्दै हुनुन्छ । कुनको तलब बढी हुन्छ ?
हाहाहा । अहिले त लगभग बराबरी छ । अब बिस्तारै स्टेजले जित्छ कि ?

हास्य कलाकार भएकैले दुःखद अवस्थामा पनि दर्शकस्रोताको माग अनुसार कमेडी गर्नुपर्छ रे । तपाईंले पनि त्यस्तो समस्या भोग्नुभएको छ ?
म त्यस्तो स्थापित हास्य कलाकार त भइसकेको छैन । सङ्घर्ष गरिरहेको छु । अग्रज दाइदिदीहरूको चाहिँ धेरै सुनेको छु । मैले चाहिँ त्यस्तो समस्या भोगेको छैन ।