इटहरीः स्थानीय तह निर्वाचनमा मेयरमा पराजित उमेद्वारहरूको बारेमा धेरैलाई जानकारी नहुन सक्छ । उनीहरू पनि खासै जनसम्पर्कमा नदेखिएका हुन सक्छन् । स्थानीय सरकारका प्रतिपक्षी भनेकै पराजित नेताहरू र तिनका दल हुन् ।
प्रदेश नं १ का प्रमुख नगर विराटनगर, धरान र इटहरीमा मेयरमा पराजित नेताहरूकाे अवस्थाप्राय समान रहेको पाइएको छ । उनीहरूको एउटै समानता भनेको स्थानीय सरकारको आलोचना नै हो । उनीहरू स्थानीय सरकारले गरेका राम्रा कामको बारेमा जानकार नभए पनि के गर्न सकेन भन्ने बारेमा भने राम्रो विज्ञता प्रस्तुत गर्छन् ।

विनोद ढकाल
विराटनगर महानगरपालिका
विराटनगर, प्रदेश नं १ को एक मात्र महानगरपालिका हो । स्थानीय निर्वाचनताका सबैभन्दा धेरै महत्वका साथ हेरिएको यस नगरको निर्वाचनमा नेपाली काङ्गे्रसका उमेद्वार भीमप्रसाद पराजुली विजयी भए । पराजुलीसँग नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालका संयुक्त उमेद्वार विनोद ढकाल ५ हजार ७ सय १० मतान्तरले पराजित भएका हुन् ।
पराजित भएसँगै ढकालले केही प्राविधिक समस्याको कारण पछि परेको तर आफू पराजित नभएको तर्क गरेका थिए । ढकाल पराजित भएलगत्तै पार्टीको राजनीतिमा सक्रिय हुन थालेका थिए । नेकपा एमालेको तत्कालीन मोरङ जिल्ला सभापतिसमेत रहेका ढकाल हाल नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
पार्टीभित्रको राजनीतिक खेलमा चतुर देखिने ढकाल हाल पार्टी एकीकरण प्रक्रियामा आफ्नो पक्षका जिल्ला स्तरका नेताको व्यवस्थापनमा व्यस्त देखिन्छन् । विराटगर महानगरको गतिविधिप्रति उनमा कुनै चासो देखिँदैन । सामान्य ढङ्गले महानगर चलिरहेको र त्यसमा आफूलाई खासै जानकारी नभएको उनी स्वीकार्छन् ।
आफू पार्टी सङ्गठन मजबुत गर्ने काममा व्यस्त भएका कारण धेरै ध्यान दिन नसकेको उनको भनाइ छ । ‘नगरमा के के काम भए भन्नेमा त्यति धेरै थाहा छैन’, उनी भन्छन्, ‘तर जनअपेक्षाअनुसार काम भएको छैन भन्ने लाग्छ ।’
पार्टी बलियो भयो भने भोलिको निर्वाचनमा विजय हुन सकिने भन्दै उनी पार्टीकै काममा व्यस्त देखिन्छन् । नगरपालिकाले के के विषयमा कति कर लगाएको भन्ने बारेमा उनी अनभिज्ञता प्रस्तुत गर्छन् ।

रोहित प्रसार्इँ
 इटहरी उपमहानगरपालिका
रोहित प्रसार्इंको उमेद्वारी शुरुमै रोचक देखियो । पार्टीभित्रको लामो रस्साकस्सीपछि उनले मेयरको टिकट हात पारेका थिए । त्यतिमात्र होइन उनी उमेद्वार भएसँगै उनको विरुद्धमा पार्टीभित्र नै चर्को आवाज उठेको थियो । नेकपा एमालेको गढ क्षेत्र मानिएको इटहरी उपमहानगरपालिकामा उनले ल्याएको मतले काङ्ग्रेसमा थप ऊर्जा मिलेको काङ्ग्रेसको ठहर थियो । हालका मेयर द्वारिकलाल चौधरी सँग २ हजार ७ सय ४ मतान्तरले पराजित उनी आफ्नो हार प्राविधिकमात्र भएको बताउँछन् ।
उमेद्वार हुनुपुर्व पार्टी राजनीतिमा खासै सक्रिय नदेखिएका प्रसाईं हाल पार्टीगत लाइन मिलाउन व्यस्त छन् । संस्थापन पक्षका विश्वासिला पात्र मानिएका प्रसाई केन्द्रीय तहसम्म राम्रो पहुँच राख्ने नेताको रूपमा चिनिन्छन् । हाल इटहरी उपमहानगरले के कस्तो काम गरिरहेको छ भन्ने बारे त्यतिधेरै जानकार नभए पनि जन अपेक्षाअनुसार काम नभएको उनको तर्क छ ।
स्थानीय सरकारले लगाएको दोहोरो कर प्रणालीको विरोधमा प्रसार्इं छन् । तर के के विषयमा दोहोरो कर छ भन्ने बारेमा आफूलाई खासै जानकारी नभएको उनको भनाइ छ ।
‘धेरै ढाँट्ने कुरा हुँदैन । हामी आफँै पनि अलमलमा छौँ,’ उनी भन्छन्, ‘स्थानीय सरकारले के गर्नुपथ्र्यो र के गरिरहेको छ भन्ने बारेमा खुलेर भन्न सक्ने अवस्था छैन ।’
उमेद्वार हुनु र पार्टीको नेतृत्व तहमा रहनु फरक कुरा भएकाले काङ्ग्रेसले गर्ने गतिविधिको विषयमा खुलेर भन्न नसकिने उनी बताउँछन् । पत्रकारले सोधेको प्रश्नको उत्तर दिन पनि आफूलाई मुस्किल परिरहेको उनको भनाइ छ ।
हाल पार्टीको औपचारिक भूमिकामा नरहेका प्रसाईं स्थानीय कार्यकर्तालाई रिझाउने काममा व्यस्त छन् । इटहरीका भित्री गाउँ सम्म पुगेर कार्यकर्ता भेट्नेदेखि शीर्ष नेतृत्व सम्मको भेटघाटलाई उनले तीव्रता दिएका छन् । त्यति मात्र होइन उनी व्यावसायिक रूपमा पनि त्यत्तिकै व्यस्त देखिन्छन् । हाल उनी होटल तथा रिसोर्ट व्यवसायतर्फ उन्मुख भएका छन् ।

तिलक राई
धरान उपमहानगरपालिका
धरान उपमहानगरका पराजित उमेद्वार हुन् तिलक राई । नेपाली काङ्ग्रेसका धरान नगर सभापति समेत रहेका राई नेकपा एमालेका उमेद्वार तारा सुब्बासँग ४ हजार बढी मतान्तरले पराजित भएका थिए ।
मेयर सुब्बाको निधन भएसँगै हाल धरान उपमेयरको नेतृत्वमा सञ्चालित छ । पुनः निर्वाचन हुने भएपछि राई मेयरको उमेद्वारको लागि आकाङ्क्षी देखिएका छन् । पहिले पनि आफूले राम्रो मत ल्याएको बताउँदै राईले जनताको पक्षमा काम गरेका कारण आगामी निर्वाचनमा विजयी हुन सक्ने बताए ।
पहिला आफू औपचारिक रूपमा निर्वाचित हुन नसके पनि अनौपचारिक रूपमा जनताको पक्षमा काम गरिरहेको उनी बताउँछन् । धरान उपमहानगरको प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका राई हाल करवृद्धि विरुद्धको आन्दोलनमा सक्रिय छन् ।
नगरको कार्यशैलीप्रति उनको पनि समान दृष्टिकोण रहेको छ । मेयरको मृत्युको कारण धरान स्तब्ध भएको र नगरले केही गर्न नसकेको उनको भनाइ छ । जन अपेक्षाअनुसार काम हुन नसकेको, देखिने काम केही नभएको जस्ता आरोप उनी स्थानीय सरकारलाई लगाउँछन् । तर कुनकुन विषय त्यस्ता छन् भन्ने प्रश्नमा उनी अनभिज्ञता प्रस्तुत गर्छन् ।
धरानम हुने पुनःनिर्वाचनको तयारी भइरहेको बेला उनी उमेद्वारीको लबिङमा पार्टीभित्र लागेका छन् । आफ्नो पक्षमा पार्टी कार्यकर्ता र जनतालाई आकर्षित गर्न उनी कर विरुद्धको आन्दोलनको प्रमुख भूमिका देखिन्छन् ।