इटहरीः काठमाडौंकेन्द्रित गाईजात्रा यस वर्षदेखि प्रदेश १ को राजधानी विराटनगरबाट शुरु हुने भएको छ । ब्रान्ड वर्थ प्रालिले यस वर्ष सातै प्रदेशमा गाईजात्रा कार्यक्रम गर्न लागेको हो ।

साउन ३२ गते शुरु हुने गाईजात्रा कार्यक्रमको नाम ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ दिइएको छ । विराटनगरबाट शुरु भई धनगढी, सिमरा, हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, पोखरा हुँदै काठमाडौंमा आएर समापन हुने ब्राण्ड वर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए ।

गाईजात्रा सिङ्गो देशको पर्व भएकाले जनतामा राजनीतिक तथा सामाजिक चेतना फैलाउनुको साथै विकृति र विसङ्गतिलाई हास्यव्यङ्ग्यमार्फत पर्दाफास गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कलाकार मनोज गजुरेलले बताए ।

कार्यक्रममा मनोज गजुरेलसँगै शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग) रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुबोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारीलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।