धरानः धरान उपमहानगरपालिकामा देखिएको करसम्बन्धी विवाद समाधान गर्न आन्दोलनरत पक्ष र उपमहानगरबीच सहमति भएको छ । सो सहमतिअनुसार राजस्व सुझाव कार्यदल गठन गरी सो कार्यदलले दिएका सुझावका आधारमा व्यापक छलफल गरी टुङ्गोमा पुगिने नगरपालिकाका प्रेस संयोजक योगेशबाबु काफ्लेले बताए ।
१० दिनभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय कार्यदल गठन गर्ने र छलफल गरी टुङ्गोमा पुगिने सहमति भएको नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले बताए । वार्तामा नेपाली काङ्ग्रेसका नगर सभापति तिलक राई, सङ्घीय लिम्वुवान राष्ट्रिय मञ्चका नगर अध्यक्ष सन्जुहाङ साँवा, नेकपा माओवादी (क्रान्तिकारी)का नेता पारस लिम्बू सहभागी थिए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष नवीन पराजुली, मङ्गोल नेशनल अर्गानाइजेशनका नगर अध्यक्ष भीम राई, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, क्षेत्रीय सचिव मुरारी भट्टराई, नगर सचिवद्वय श्याम पोखरेल र युवराज शङ्कर पनि वार्तामा सहभागी थिए । उपमहानगरपालिकाका तर्फबाट कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, कर अधिकृत खगेन्द्र खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कार्यदलमा काङ्ग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, नगर सचिव श्याम पोखरेल, सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चका नगर अध्यक्ष साँवा र प्रा.डा. अशोक झा रहेका छन् ।
त्यस्तै, उपमहानगरपालिकाको तर्फबाट प्रवक्ता तथा २० नं. वडा अध्यक्ष मणिराम राई, १५ नं. वडा अध्यक्ष नरेश इवारम र १७ नं. वडा अध्यक्ष मनोज भट्टराई रहेका छन् । साथै आवश्यकताअनुसार विज्ञलाई समावेश गराई राय लिने समेत सहमति भएको छ ।