इटहरीः सञ्चारकर्मी जनकऋषि राईले सम्पादन गरेको ‘किन किरात प्रदेश’ नामक पुस्तक विमोचन भएको छ । संघीय प्रदेश नं. १ को नाम किन किरात प्रदेश राखिनुपर्छ भन्ने जानकारी दिन पुस्तक सहयोगी हुने राईले बताए ।
किरात राई विद्यार्थी संघको २०औँ स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा सो पुस्तक सार्वजनिक भएको हो । पुस्तकमा काजीमान कन्दङ्वाको ‘राईहरू कहिलेदेखि लिम्बू भए’, दुर्गाहाङ याक्खा राईको ‘किरात अहिन्दु जनजातिको परिचय’, हेन्कुबुङ चाम्लिङको ‘बहसको लागि किराती अस्तित्व’ र भक्तराज कन्दङ्वाको ‘एक्काइसौँ शताब्दीको किरात राष्ट्रिय आन्दोलन’ शीर्षकका लेख रहेका छन् ।
त्यस्तै, सम्पादक जनकऋषि राईको ‘व्यवस्थापकीय अन्योलता’, गोपाल किरातीको ‘किराती राष्ट्रका चुनौतीहरू’, सुनिता किरातीको ‘किरात प्रदेश नै किन’, प्रकाश लिम्बूको ‘किरात प्रदेश नै वैज्ञानिक’, अर्जुन जम्नेलीको ‘किरात राज्य बन्ने आधारहरू’, शालिक शतासकको ‘किरात प्रदेशका आधारहरू’ र राजेन खिम्बुले राईको ‘किरात प्रदेशका वैज्ञानिक आधारहरू’ शीर्षकका लेख रहेको सम्पादक राईले बताए ।
किरात राष्ट्रिय मुक्ति मोर्चाले २०६० सालमा सार्वजनिक गरेका २ वटा दस्ताबेज पनि सो पुस्तकमा रहेको राईको भनाइ छ ।