बेलबारी: ससुराको मलामी गएर फर्कने क्रममा मोटरसाईकलको ठक्करबाट ज्वाइको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरेमा मोटरसाईकलको ठक्करबाट शनिबार साँझ तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका २ बसन्तपुरका उद्दब नेपालीको मृत्यु भएको हो ।
बसन्त माविका प्रध्यानाध्यापक शनिबार ससुरा मेघराज कार्की ढोलीले आत्माहत्या गरेपछि मलामी आएका थिए । मलामी गएर फर्कने क्रममा पछाडीबाट आएको को ३ प ७९०९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा नेपालीको मृत्यू भएको हो । मलामी गएर ससुराली पथरी फर्कने क्रममा पथरीशनिश्चरे १ लाटिखोलामा दुर्घटना भएको थियो । मोटरसाईकल चालक संजय कामीले अत्याधिक मदिरा पिएर मोटरसाईकल चलाएको र मलामी गएर फर्केका ३ जनालाई बाईकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा उर्लाबारी २ का छत्र बहादुर दर्जी र तेह्रथुम लालीगुराँस नगरपालिका ८ लसुनेका पदमबहादुर नेपाली रहेका छन । मोटरसाईकलले ठक्कर दिएपछि मोटरसाइकल कारमा गएर ठोक्किएको थियो । बाईक चालक कामी सख्त घाईते भएका छन् । उनको र छत्र बहादुर दर्जीको पथरीशनिश्चरेको पथरी हस्पिटलमा र घाईते पदमबहादुर नेपालीको मोरङ डाईग्नोस्टिक सेन्टरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।