सङ्खुवासभाः जिल्ला सदरमुकाम खाँदबारी बजारमा सञ्चालित साना शहरी खानेपानी आयोजना ५ पटक समय थप गर्दै सम्पन्न भयो । तर निर्माण समितिले खाँदबारी नगरपालिकालाई नबुझाउँदै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।
खाँदबारी बजारदेखि करिब ४३ किलोमिटर टाढा रहेको मकालु गाउँपालिका–५, मांसिमाको सिमाली खोला मार्फत् खाँदबारी नगरपालिकामा शुद्ध पिउनयोग्य पानी वितरण गर्ने उद्देश्यका साथ आयोजना सञ्चालन गरिएको थियो । आयोजनाले २०७२ साल माघसम्ममा २४ घण्टा नै शुद्ध पिउनयोग्य पानी उपलब्ध गराउने भनी २०७० साल असोजदेखि निर्माण थालेको थियो । तर निर्माण कम्पनी सिनोटिक र आशिषले समयमा निर्माण कार्य नसक्दा ५ पटकसम्म निर्माण समय थप गरेको थियो ।

आयोजना पुनः मर्मत गर्नुपर्ने अवस्थामा
गत पुस १६ मा निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने काम ५१ महिना लगाएर सम्पन्न गरे पनि सो आयोजना पुन मर्मत गर्नुपर्ने देखिएको छ । खानेपानीको लाइन पुगेको ठाउँमा स्थानीयले कतै आजसम्म धारामा पानी देखेका छैनन् भने कतिपय ठाउँमा पाइप फुटेर खेतबारीमा पहिरो जाने सम्भावना बढेको छ ।
निर्माणमा खर्च बढेका कारण खानेपानीको महसुल करिब ५३ प्रतिशतले वृद्धि गरिएको छ । विभिन्न बहाना बनाउँदै खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले महसुल शुल्क वृद्धि गरेको हो । स्थानीय तहले करको दायरा बढाएको भन्दै संस्थाले पनि महसुलमा शुल्क वृद्धि गर्नुपरेको जनाएको छ । यसरी नियमित पानी पनि नआउँदा र महसुल पनि नबढ्दा स्थानीय आक्रोशित भएका छन् ।
संस्थाले न्यूनतम ५ युनिटसम्मको प्रतिमहिना १ सय ५० बाट २ सय ३० रुपैयाँ र ६ देखि १० युनिटसम्म प्रतियुनिट ४५ रुपैयाँ रहेकोमा हाल ७० रुपैयाँ पु¥याएको छ । उपभोक्ताको ५ प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहेको खानेपानी आयोजनाको महसुल गत साउनदेखि लागू हुने गरी वृद्धि गरिएको खाँदबारी खानेपानी उपभोक्ता सरसफाइ संस्थाले जनाएको छ ।
११ देखि २० युनिटसम्मको प्रतियुनिट १ सय ५ रुपैयाँ पु¥याइएको छ, यसअघि प्रतियुनिट ७२ रुपैयाँ लिइँदै आएको थियो । सबैभन्दा धेरै २० युनिटभन्दा माथिका लागि प्रतियुनिट १ सय ५५ रुपैयाँ शुल्कवृद्धि गरेको संस्थाले जनाएको छ ।
आयोजना निर्माणको चरणमा पटकपटक डिजाइन परिवर्तन हुँदा २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुल्क वृद्धि गर्ने सहमति गरिएको संस्थाका अध्यक्ष नरेन्द्र राईले जानकारी दिए । उनले शुल्क वृद्धि नगरिए थप ऋण नदिने भएपछि शुल्क बढाउने सम्झौता गर्नु बाध्यता भएको दाबी गरे । प्रतिमहिना २ सय ३० रुपैयाँमा १० युनिटसम्म पानी दिनुपर्ने उपभोक्ता रामकुमार खत्रीको गुनासो छ । शुल्क वृद्धि गर्नैपर्ने भए पानीको न्यूनतम युनिट बढाउनुपर्ने उपभोक्ताको माग छ ।
न्यून आयस्तर भएका उपभोक्ताले पानीको महशुल तिर्न नसक्ने भएकाले यो शुल्क तत्काल घटाउनुपर्ने उपभोक्ता खत्रीको भनाइ छ । ‘न्यूनतम ५ युनिटले १ परिवारको पर्याप्त नहुने भएकाले न्यूनतम युनिट बढाउन आवश्यक छ ।’
खानेपानी संस्थाले जडान शुल्क भन्दै उपभोक्ताबाट अग्रिम ५ प्रतिशत रकम २ करोड १५ लाख उठाएको थियो भने आयोजना सञ्चालनका लागि नगर विकास कोषबाट २० करोड २ लाख रुपैयाँ ऋण लिएको थियो । संस्थाले सो ऋण १५ वर्षभित्रमा तिर्नुपर्ने छ ।
भोरेएसन अडर र मूल्य समायोजनसहित आयोजनाको खर्च रकम करिब ४६ करोड ५१ लाख रुपैयाँ खर्च भइसकेको खाँदबारी खानेपानी संस्थाले जानकारी दिएको छ । संस्थाले वितरण गर्ने पानीमार्फत् खाँदबारी नगरपालिकाको १ देखि ९ वडा, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापानीका करिब २ हजार ५ सय धुरी लाभान्वित हुनेछन् ।