झापाः आइतबार कतै बेठी लगाएर धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाइयो त कतै सामुहिक रूपमा धान रोपेर ।

झापाको मेचीनगरमा भेला भएका साहित्यकारहरू भने कविता र गीतका माध्यमबाट धान रोप्दै थिए । २ तले घरमाथि कतै सहनाइ बज्दै थियो त कतै असारे भाकाको लोकगीत अनि कतै असार १५ कै गीत र कविता गुञ्जिरहेको थियो । झापाली कविहरूलाई मात्र होइन प्रदेश नम्बर १ का धेरै स्रष्टाहरूलाई एक ठाउँमा भेला भएर यो दिवस मनाउन स्रष्टा एकता मञ्च प्रदेश नम्बर १ ले अवसर जुराएको थियो ।

साहित्यका माध्यमबाट असार १५ लाई सधैँ बचाइराख्ने उद्देश्यले स्रष्टा एकता मञ्च प्रदेश नम्बर १ ले आइतबार कार्यक्रम गरेको हो । मञ्चले वरिष्ठ साहित्यकार तेजराज खतिवडाको निवास परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि अहिले कृषि तथा कृषिजन्य वस्तुमा नेपाल परनिर्भर बनेको भन्दै स्रष्टाले चिन्ता व्यक्त गरेका गरेका थिए ।

मञ्चका संयोजक एवम् कार्यक्रमका सभापति खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुका साथै राणाशासनमा बेहोर्नु परेको पीडालाई कवितात्मक शैलीमा प्रस्तुत गरेका थिए ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310

केही वर्ष अघिदेखि सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको भए पनि यतिखेर धान फल्ने सबै खेत प्लटिङमा रूपान्तरण भएकोमा सहभागी स्रष्टाहरूले दुखेसो व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कथाकार विनोद खनालले असार १५ को महत्वका बारेमा प्रकाश पारेका थिए । उनको भनाइ सकिन नपाउँदै कलाकार मातृका सङ्ग्रौलाले सहनाई बजाएर असारे भाकाको गीत प्रस्तुत गर्नासाथ स्रष्टा गंगा ओडारी र परशुराम तिम्सिना जानीनजानी कम्मर हल्लाउन थाले । साहित्यकार हरिप्रसाद रिमालले कविता वाचन गरे भने स्रष्टा गंगा ओडारीले रोपाइँको समयमा गाइने गीत प्रस्तुत गरिन् ।

स्रष्टा परशुराम तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कृष्ण सुमार्गी, पत्रकार लक्ष्मी उप्रेतीलगायतले आ आफ्नो विचार व्यक्त गरेका थिए । अब हरेक वर्ष असार १५ मा मञ्चले विभिन्न ठाउँमा साहित्यका माध्यमबाट कृषिप्रधान देश र असार १५ लाई बचाइराख्न विविध कार्यक्रम गर्ने संयोजक खतिवडाले जानकारी दिए ।