सडकछेउको ऐलानी जग्गामा रुपीका खुट्टाजस्ता बाँसका मासिना खुट्टामाथि पातला पानीकागजका छाना हालेर बनाइएका केही घरहरू छन् । र त्यसका अतिरिक्त छन्, खर र टायलका छाना भएका एकाध घर । जसलाई मान्छेहरू विचित्र टोल भन्छन् ।
यस टोलका मानिसको बाँच्ने आफ्नै शैली छ । आफ्नै संस्कार छ । नगरभित्रको फोहोर, शौचालय, हौज, आदि सफा गरेर त्यसबाट प्राप्त आयस्ताले जीवननिर्वाह गर्छन् । आफ्नो खल्तीमा बीस–चालीस रुपैयाँ हुन्जेल उनीहरूकै भाषामा ‘मस्त मौलाना’ हुन्छन् । जब आफूसँगको सञ्चित रकम जाँडपानी र मोजमस्तीमा सकिन्छ अनि लौ हजुर ! चर्पी सफा गर्नुस्, हौज सफा गर्नुस्’ भन्दै आफ्नो कामको विज्ञापनसँगै दौडन्छन् नगरका टोल–टोल ।
एउटा घरको चर्दै गरेका कुखुरा अर्काले चोरेर खानु, छिमेकीका घरमा आफूले खाएको कुखुराको भुत्ला मिल्काउनु र चोरीको दोष अर्कैलाई थोपरेर आफू कुखुरे मुद्दाबाट उम्किनु यस टोलका मान्छेको अर्काे विशेषता हो ।
अरु बेला जे–जस्तो विशेषता भए तापनि चुनावताका भने यस टोललाई विशेष टोलका रूपमा हेरिन्छ । भनौँ, यो टोल भोटबैंक हो । जसले प्रत्येक चुनावमा सुदामाप्रसादलाई कुबेरप्रसाद बनाउने श्रेय बोकेको छ । तर राजनीतिक सिद्धान्त नीति– नियम र जिन्दावाद, मुर्दावादसँग यो टोल र यहाँका बासिन्दालाई कुनै सरोकार छैन ।
प्रत्येक चुनावमा रक्सी र मासुको भतेरले प्रभावित टोल अरु बेला हल्ला र अशान्तिभित्र केन्द्रित रहे पनि चुनावताका भने हरेक दिन आमसभा हुन्छ, भाषण हुन्छ । रातभरि गोप्य वार्तालाप र छलफल हुन्छ ।
बाह्रैमास रक्सीले मातेर टोललाई कुरुक्षेत्र बनाउने यहाँका ल्याप्चेमार्का मतदाताको प्रत्येक घण्टा–घण्टामा मत दिने निर्णय फेरिन्छ । आमसभा, पोष्टर, ब्यानर घोषणापत्रभन्दा पनि गोप्य भेटघाट र भोजभतेर यस विचित्र टोलको विचित्र मन्त्र हो । सम्बद्ध पक्षको मन राख्न मात्र उनीहरू त्यो घस्यौटो अर्थात् पर्चा पम्प्लेट बटुल्छन्, जुन उनीहरूलाई पढ्न होइन ओसिएको चुलो तताउन काम आउँछ ।
प्रत्येक नेतालाई यस टोलको भोट आफ्नो पक्षमा तान्ने प्रक्रिया थाहा छ । यहाँ भोट माग्न आउँदा धेरै नेताहरू सफारी सुट फुकालेर साधारण वेशभूषामा आउँछन् । बेन्चमा पीँध बिझाएर डनलप राख्नुपर्नेहरू उपियाँ परेको थोत्रो बोरामाथि निर्धक्क बस्छन् र फलाक्छन् समानताका प्रवचन ।
लोकल ठर्रासँग, कुच्चिएको कालो सिल्भरे थालमा मुरही (भुजा), प्याज, नुनखुर्सानीको जलपान गर्छन् । समाजमा पानी नचल्ने जात भनेर उपेक्षा गरिए पनि स्वार्थको वैतरणी तर्न घिन मान्दै होस् कुच्चिएको कालो सिल्भरे लोहोटामा घटघटी पानी पिउँछन् । खल्तीको ५५५ चुरोटको बट्टा लुकाएर बिंडीको तीतो धुँवा तान्दै आफूले जितेपछि उनीहरू बसेको ऐलानी जग्गालाई नम्बरी पारिदिने आश्वासनसँगै अति मृदुभाषी भएर आत्मीयताका कुरा गर्छन् र बाटो लाग्छन् ।
धेरै नेताहरूलाई गन्तव्यको शिखर चढाउने सौभाग्य यस टोलले प्राप्त गरे तापनि अभाव, गरिबी र समस्याको गहिरो खाडलबाट भने कहिल्यै मुक्त हुन सकेको छैन यो टोल । धेरैले भोट तान्ने क्रममा क्यालकुलेटर अन–अफ गर्दै ‘देख हमरा कौन भोट देते, कौन नहीँ देते ई मिसिनमे पत्ता लगजेते’ (हेर, हामीलाई कसले भोट दिन्छ, कसले दिँदैन यो मेसिनले पत्ता लगाउँछ) भन्दै एउटा डर फैलाएर भोट बटुलेको इतिहास पनि छ यो टोलसँग । यस टोलका मानिसहरूको मानसिकता यही सोच्छ चुनाव आउनु भनेको एउटा चाड आउनु हो, जुन बेला यस टोलमा रक्सी र मासुको भतेर लाग्छ ।
यही विचित्र टोलको विचित्र पात्र मध्येको एउटा हो शिवु मेहतर ।
जसलाई अधिकांश मानिसहरू शिबुवा पनि भन्दछन् ।
सौ टक्का तूँ दारु पिकर उडा देलिए, अब कि खेबे तोहर बापके .....।’ (सय रुपैयाँ तैँले रक्सी पिएर उडाइस्, अब के खान्छस् तेरा बाउको ...) रक्सीले टिल्ल मातेर भरखरै आफ्नो घरभित्र पसेको शिबुमाथि उसकी स्वास्नी चनकलिया खनिएकी छे ।
खेलिए तो खेलिए । अपना कमाइ खेलिए, तोहर वापके खेलिए ?’ (खाएँ त खाएँ, आफ्नो कमाइ खाएँ, तेरो बाउको खाएँ ?) लरबरिएको खुट्टालाई नियन्त्रणमा लिन खोज्दै शिबु आफ्नो पौरुष हाँक्छ ।
‘बाँकी टका निकाल । घरमें चावल नहीं छे , तेल नहीं छे ।’ (बाँकी रुपैयाँ निकाल । घरमा चामल छैन, तेल छैन ।) चनकलियाको भाषामा ‘दिवाना’ भएर घुमेको लोग्नेको गोजी छाम्दै लोग्नेलाई समाएर आँगनमा थचार्छे । शिबुको गोजीबाट दुइ रुपैयाँ पैंसठ्ठी पैसा र एक खिल्ली याक चुरोट फेला पर्छ ।
‘टका नहीं छे, हम सब टका दारु खेलिए, बेटीवाला टका निकाल ।’ (रुपैयाँ छैन । मैले सबै रुपैयाँको रक्सी खाएँ । छोरीले कमाएको रुपैयाँ निकाल् ।) स्वास्नीलाई घचेट्दै ऊ लरखराउँदै जुरुक्क उठ्छ ।
शिबुको जवाफले आन्दोलित हुन्छे चनकलिया । दिनभरि लोग्नेस्वास्नीले मिलेर कमाएको सम्पूर्ण रुपैयाँ लोग्नेले रक्सी खाएर उडाएपछि विगतका दिनमा झैं आज पनि लोग्ने–स्वास्नीबीच शीतयुद्ध शुरु भएको छ । यस टोलका प्रायः प्रत्येक घरमा देखिने जीवन्त दृश्य हो यो । यहाँका प्रत्येक घरमा भएको लोग्नेस्वास्नीबीचको युद्धमा छोराछोरीहरू भने सधैं आमाको पक्षमा हुन्छन् । बाबु यहाँ सधैं एक्लो बृहस्पति हुन्छ । र आज पनि यस्तै भएको छ । आमाबाबुको लडाइँमा बाबुलाई समाएर थेचार्ने काममा चनकलियालाई छोराछोरीहरूको पूर्ण सहयोग प्राप्त भएको छ ।
‘तूँ सब बैठ, हम मरजेबे ।’ (तिमीहरू बस म मर्छु ।) स्वास्नीसँगको लडाइँमा परास्त भएपछि शिबु छानामाथिको नाइलनको डोरी बोकेर मर्न हिँड्छ ।
यस टोलको संस्कार नै यस्तो छ । झगडाले उग्र रुप लिएपछि झगडा गर्ने दुई पक्षमध्ये एक पक्ष शिबुझैं हातमा डोरी बोकेर मर्न हिँड्छ । तर मर्ने घोषणा गरेर कुनै व्यक्ति हिँड्छ भने मरिहाल्छ कि भन्ने डरले उसको पछि न त मर्न हिँड्ने व्यक्तिको परिवार लाग्छ, न त गाउँ छिमेकी नै । मर्न हिँडेँ भन्ने संवाद आफ्नो परिवारलाई घुक्र्याउने एउटा ‘थेगो’ मात्र हो । भनौं झगडाको पूर्णविराम । मर्छु भनेर हिँड्नेहरू मरेको यस टोलमा आजसम्म रेकर्ड छैन । चाहे डोरी बोकेर हिँड्ने शिबु मेहत्तर होस्, चाहे हातमा खुर्पा बोकेर हिँड्ने किसन डुम ।
शिबुको घरको झगडाको जड प्रायः अभाव गरिबी भएता पनि एउटा अर्काे जड उसकी तरुणी छोरी कलकतिया पनि हो । धेरैजसो उसैको निहुँमा शिबु र उसकी स्वास्नीको झगडा हुन्छ । उसलाई आफ्नो घर सानो भए पनि घर खुला बोर्डर भएको र आफ्नी छोरी सार्वजनिक शौचालय भएको मन पर्दैन । उसले छोरीको स्वतन्त्रतामाथि लगाम लगाउन खोज्दा सधैं युद्ध चर्कने गर्छ ।
उसकी छोरी प्रायः घरबाट हराउछे र दुइ तीन दिनमा पुनः घर फर्किन्छे । तर बाबुले जतिसुकै विरोध जनाए पनि आमा सधैं छोरीकै पक्षमा बहस गर्छे । किनकि छोरी जतिपल्ट हराउँछे उतिपल्ट ऊ आमाको पोल्टामा आफूले कमाएको बहस दस्तूर राखिदिन्छे । जसले उसलाई जोगाउन सघाउ पु¥याउँछ । छोरीको अतिरिक्त आम्दानीले चनकलियाले धेरैपल्ट आफ्नो घर धानेकी छे । छोरीले कमाएर ल्याएको आम्दानीप्रति व्यङ्ग्य कसेको चनकलियालाई पच्तैन ।
शिबुको घरको पानी कसैलाई चल्दैन, तर उसकी छोरी सबैलाई चल्छ । किनभने उसकी छोरी राम्री छे । स्वाभाविकै हो, राम्रो कुरा सबैलाई चल्नु । जस्तो भनौं प्रदुषित पोखरीको पानी छुन घिनाउनेहरू त्यही पोखरीकोभित्र फुलेका फूललाई आफ्ना कोमल हातले सस्नेह स्पर्श गर्दै फूलको सुवासलाई सहर्ष आफ्ना पारखी नाकसम्म पु¥याउँछन्, ग्रहण गर्छन् । सम्भवतः शिबुकी छोरी कलकतिया दुर्गन्धित हिलोमा फुल्ने त्यही कमलको प्रतिरूप हो ।
हातमा डोरी बोकेर पारिवारिक कलहबाट विरक्तिएर मर्ने घोषणासहित हिँडेको शिबु बिँडी तान्दै केसलिया खोलाको डिलमाथि चिसो भुइँमा डोरी बिछ्याएर टुक्रुक्क बस्छ । केसलिया अर्थात् एउटा आर्यघाट । गृह किचलो भएपछि शान्ति खोज्न प्रायः ऊ यस ठाउँमा आउने गर्छ । नजिक रहेको खोलाको किनारमा एउटा लाश जलिरहेको छ ।
रक्सीको रमरमले लठ्ठिएको शिबुको दृष्टि चिताबाट उठेको धुवाँको मुस्लोसँगै माथिमाथि आकाशमा मडारिइरहेको छ । अहिले अति भावुक भएको छ शिबु, मानौं ऊ एउटा कवि हो जो भावनाका इन्द्रेनी तरङ्गहरूमा एकाएक हराउँदै अथाह चिन्तनको सागरमा डुबेको छ । यस बेला उसलाई चितामाथिको लास आफैं भएको अनुभूति भएको छ सायद । एउटा अज्ञात छट्पटीले पिरोलिएझैं देखिन्छ उसको अनुहार ।
‘ए, शिबु !’ मुर्दा पोल्दै गरेको ठाउँदेखि केही पर उभिएको एउटा व्यक्तिको सम्बोधनले शिबुको एकाग्रता टुट्छ । उसको दृष्टि आफूलाई सम्बोधन गर्ने व्यक्तिमाथि केन्द्रित हुन्छ । व्यक्तिको हातमा नयाँ पेण्ट र सर्ट छ । जो सङ्केतमा आफूलाई लिन आग्रह गरिरहेछ । शिबु व्यक्तिमाथि केन्द्रित आफ्नो दृष्टिलाई पुनः खोलाको शीतल पानीको लहरमा पु¥याउँछ ।
‘नयाँ पेण्ट सर्ट हो मूर्ख ! लैजा ।’ आफ्नो आग्रहलाई बेवास्ता गरेकोमा अप्ठ्यारो महसुस गर्दै व्यक्ति पुनः शिबुको दृष्टिलाई आफूसमीप तान्ने प्रयास गर्छ ।
‘...............!’ आफ्नै अन्तद्र्वन्द्वभित्र हराएको शिबु अझै मौन छ । ऊ केही बोल्दैन ।
‘शिबु ! तँलाई यो कपडा दुइचार वर्ष चल्छ । तँ चिनेको भएर पो भनेको त, ठूलो नभई लैजा । नत्र अहिले अर्काेले लग्छ ।’ अझै व्यक्तिको सहानुभूति उसप्रति छ ।
‘लगोस् । म लग्दैन हजुर !’ बाउँठिन्छ शिबु ।
‘कस्तो भेडा रै’ छ यो । हैन, आज तँलाई के भयो ?’ छक्क पर्छ व्यक्ति ।
‘जब मेरो घरमा बालबच्चा भुखा हुन्छ, त्यसबेला कसैले आधा किलो चावल दिँदैन । जब आफूले खाई नसकेर उब्रन्छ, यो लैजा शिबु ।’ आफूभित्र उद्वेलित छट्पटीहरू एकैपल्टमा बिसाउँछ । उसको आँखामा एउटा ज्वालामुखी छ ।
‘के गर्छस्, हाम्रो संस्कार नै यस्तो छ । नरिसाई लैजा । आज मौगी (स्वास्नी) सँग बाझेर आइस् कि क्या हो ?’ अझ आग्रह गरिरहेको छ व्यक्ति ।
‘लग्दैन हजुर ! जसलाई दिनुहुन्छ दिनुस् !’ अझ विद्रोही हुँदै जुरुक्क उठ्छ ऊ, र आफू बसेको ठाउँदेखि केही पर एउटा ठूलो वरको रुखमुनि गएर बस्छ । आज शिबुको स्वभावमा एकाएक आएको परिवर्तनले व्यक्ति आश्चर्यचकित हुँदै किंकर्तव्यविमुढ भएर केही बेर उभिन्छ । केही नलागेपछि हातको कपडा भुइँमा मिल्काएर मलामीहरूको भीडमा मिसिन्छ ।
केही बेरको मौनतापछि झस्कन्छ शिबु । अहिले रक्सीको नशाले छोड्दै आएको छ उसलाई । ऊ आफैंले मर्न भनी लिएर हिँडेको डोरी यताउता खोज्न थाल्छ र डोरी अघि बसेको ठाउँमा छुटेको सम्झन्छ । केही बेर अघिसम्म रक्सीको नशाले लठ्ठिएको उसको चेतना अहिले जागृत भएको छ र जीवनप्रतिको मोह प्रबल भएर आएको छ उसभित्र । भोकले समेत आक्रमण गरिरहेको छ उसलाई । एकाएक ऊ घर सम्झन्छ र जुरुक्क उठेर घरतर्फ लाग्छ ।
घरमा कसैसँग एक शब्द पनि नबोली चुलोमाथि छोपेर राखेको भात निकालेर खपाखप खान थाल्छ । अधिकांश समय घरबाट हराएर कहिलेकाहीँ झुल्किने गरेकी उसकी छोरीले उसका अगाडि लोहोटामा पानी राखिदिन्छे । स्वास्नी चनकलिया सँघारमा बसेर सानी छोरीको टाउकोमा जुम्रा हेरिरहेकी छे । शिबु क्रुद्ध आँखाले दुवैलाई हेर्छ । तर केही बोल्दैन ।
मर्न गएको लोग्ने भोकले खरिएर सधैंझैं जिउँदै आएकोमा चनकलिया उसले नदेख्ने गरी अर्काेतर्फ मुण्टो फर्काएर मुसुक्क हाँस्छे । मानौं भनिरहेकी छे, ‘बुढा ! मर्न त्यति सजिलो छ ?’