इटहरीः इटहरीका जनप्रतिनिधिहरूको मासिक तलब बाहेकका भत्ता, भ्रमण र सवारी खर्च मात्रै ३ करोड १९ लाख हुने देखिएको छ । इटहरी उपमहानगरपालिको आर्थिक वर्ष २०७५/७६ को नीति, कार्यक्रम तथा बजेटको रातो किताबमा उल्लेख गरिएको व्ययको अनुमानले यस्तो देखाउँछ ।

सवारी र इन्धनमा वार्षिक २ करोड ४५ लाख

जनप्रतिनिधिहरूले विलासी गाडीमा सवार भए भन्ने गुनासो आइरहँदा सोही कुराको पुष्टि गर्ने सवारी र इन्धन खर्च इटहरीको देखिएको छ । सवारी र इन्धनमा खर्च मात्रै २ करोड ४५ लाख देखिन्छ । यो रकम भाडाका सवारी साधनबाहेक अन्य खर्चमा मात्रै देखिएको हो । यसको शीर्षकगत विवरण यस्तो छः

इन्धन पदाधिकारीः २५ लाख

सवारी साधन मर्मतः २० लाख

सवारी साधनः २ करोड

भत्ता र भ्रमणमा मात्रै सकिन्छ वार्षिक ७४ लाख रुपैयाँ

स्थानीय सरकारका पदाधिकारीहरूले गर्ने भ्रमण र विभिन्न भत्ताहरूको वार्षिक खर्च ७४ लाख हुने देखिएको छ । यसमा भ्रमण भत्तादेखि अवलोकन खर्चसम्म पर्छन् । यस्तो छ शीर्षकगत विवरणः

पदाधिकारी बैठक भत्ताः ५५ लाख

पदाधिकारी अन्य भत्ताः ४ लाख

पदाधिकारी अवलोकन भ्रमणः १० लाख

पदाधिकारी भ्रमण खर्चः ५ लाख

 

४ वटा वडाको एकमुस्ट बजेटभन्दा धेरै खर्च भत्ता र सवारीमा

यसरी जनप्रतिनिधिको भ्रमण, भत्ता र सवारीमा हुने वार्षिक खर्च इटहरीका ४ वटा वडाको एकमुष्ट वार्षिक बजेटभन्दा धेरै हुने देखिन्छ । उदाहरणको लागि, वडा नम्बर १ को चालु तथा पूँजीगत खर्च ७० लाख छ । वडा नम्बर २ को १ करोड छ भने वडा नम्बर ३ को ७० लाख रहेको छ । वडा ४ को यो आर्थिक वर्षको चालु तथा पूँजीगत खर्च १ करोड रुपैयाँ छ ।

यी ४ वटै वडाको एकमुष्ट वार्षिक चालु तथा पूँजीगत खर्च ३ करोड ४० लाख हुन आउँछ । यो रकम जनप्रतिनिधिहरूको भ्रमण, भत्ता र सवारी खर्च भन्दा २१ लाख बढी हुन आउँछ ।