धरानः कविता र सङ्गीतको फ्युजन कस्तो होला ? धरान–१८ स्थित माउन्ट हर्मन एकेडेमीका विद्यार्थीहरूले आज बुधबार यस्तै सुन्दर प्रयोग गरेर उपस्थित अतिथिहरूलाई मन्त्रमुग्ध बनाए ।
विद्यालयका विद्यार्थीहरूले त्रैमासिक रूपमा प्रकाशन गर्ने किड्स टाइम्सको आठौँ वार्षिकोत्सवको अवसरमा उनीहरूले आज सङ्गीतको पृष्ठभूमिमा धरानकै ४ जना कविका कविताहरू वाचन गरे । विद्यार्थीहरू सिसम श्रेष्ठ, निश्चल राई, सागरिका राई, सुबिन राई, सनम राई र इच्छा राईले कविता वाचन गरेका हुन् ।
विद्यार्थीहरूले कविहरू राज माङ्लाक, सुदीप पाख्रिन, सन्तोष थेबे र राजेश विद्रोहीका कविता वाचन गरेका थिए । सङ्गीतमा कविता सुन्दा फरक अनुभूति भएको प्रमुख अतिथि प्रा.डा. भीम खतिवडाले बताए । सो अवसरमा विद्यार्थीहरू प्रसान राई, मौसम राई, सुपिल उदास र अभियान तामाङले गीत पनि गाएका थिए ।
हरेक वर्ष यसरी नै फरक किसिमको कार्यक्रमको आयोजना गर्ने गरेको एकेडेमीका प्रिन्सिपल अनुप योन्जन तामाङले जानकारी गराए । विद्यार्थीमा भएका प्रतिभालाई उजागर गर्नु कार्यक्रमको उद्देश्य भएको विद्यालयका प्रशासक नवीन राई बताउँछन् ।
धरान प्रज्ञा प्रतिष्ठानका सदस्य गोपाल देवानले विद्यार्थीहरूलाइ सिर्जनशील बनाउन यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राखे ।