उर्लाबारीः तामाङ जातिको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मिस तामाङ प्रदेश नं. १ हुने भएको छ ।

नेपाल तामाङ घेदुङ सङ्घ उर्लाबारी नगर समितिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । मोरङको उर्लाबारीमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताका बारेमा जानकारी गराएको छ । प्रदेश नं. १ का १४ वटै जिल्लाका ३० जना युवती छनोट गरी बन्द प्रशिक्षणमा राखिने कार्यक्रम संयोजक रविन लामाले जानकारी दिए ।

इलाममा असार १२ गते, बिर्तामोडमा असार १६ गते, धनकुटामा असार २० गते, तरहरामा असार २५ गते र उर्लाबारीमा असार २८ गते अडिसन हुने उनले बताए । त्यस्तै, गाईघाटमा पनि अडिसन गरिने जनाइएको छ ।

ती अडिसनबाट छनोट भएका युवतीको क्षमता विकास, तामाङ जातिको भाषा, कला र संस्कृति, फेशनलगायतका बारेमा प्रशिक्षण दिइने बताइएको छ । प्रतियोगिताका विजेतालाई स्कुटरसहित आकर्षक पुरस्कार प्रदान गरिने घेदुङका नगर अध्यक्ष राजु लामाले जानकारी दिए ।

उनका अनुसार फस्ट रनरअपले १ लाख र सेकेन्ड रनरअपले ५० हजार नगदसहित आकर्षक पुरस्कार पाउनेछन् । फाइनल राउण्ड धनकुटाको हिलेमा भदौ २५ गते हुने आयोजक संस्थाका सचिव राजकुमार योञ्जनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।