बेलबारीः मासुको लागि राम्रो मानिने बोयर जातका बाख्रा पछिल्लो समय बेलबारीमा व्यावसायिक रूपमा पाल्न थालिएको छ । त्यस्तै, रैथाने जातका माउ बाख्रामा बोयर जातको बोकाको संसर्ग गराएर उत्पादन गरिने बाख्रा पनि पाल्न थालिएको छ ।
बेलबारीका ५ जना व्यक्ति मिलेर सामुहिक बाख्रापालनका लागि दक्षिण अफ्रिकाबाट बोयर जातको माउ र बीउ बोका ल्याएर सामुहिक बाख्रा पालन शुरु गरिएको छ ।
‘शुरुमा हामिले बोयर जातका १४ वटा माउ तथा २ वटा बीउ बोका ल्याएर पाल्न शुरु गरेका हाँै’, सामुहिक बाख्रा पालन गर्दै आएका राजन दर्नालले भने, ‘हाम्रा खोरमा अहिले १ सय २५ भन्दा बढी बाख्रापाठा रहेका छन् । स्थानीय जातका बाख्रामा समेत बोयर जातका बोका मिसाएर पाठापाठी उत्पादन गर्न थालिएको छ । एकै पटक धेरै ल्याउन सकिँदैन । महङ्गो पनि हँुदो रहेछ ।
३ लाख ५० हजार रुपैयाँ खर्च गरेर साउथ अफ्रिकाबाट बीउका लागि ल्याएको बोका हेर्दा आफैँ छक्क परेको उनले बताए । ‘१ वर्षमा १ सय २० किलोसम्म हुँदो रहेछ’, उनले भने, ‘तर बीउका लागि राखिने बोकालाई भने धेरै दाना, खोले, घाँस दिनुहुँदो रहेनछ । अहिले हामीसँग भएको बोका ९० किलो भन्दा बढीको छ ।’
राजनसँगै हरि विश्वकर्मा, चन्द्रकुमार मग्रान्ती, शान्ताकुमार सुनुवार र दीप मग्रान्तीले सामुहिक बाख्रा पालन गरिरहेका छन् । ‘१४ वटा पियोर बोयर जातका माउ र बोका ल्याएका थियौँ,’ हरि विश्वकर्माले भने, ‘अहिले स्थानीय रैथाने जातका बाख्रामा समेत बोका लगाएर पाठापाठी उत्पादन गरिरका छाँै ।’ बोयर जातको बाख्रा १ महिनामा १० किलोसम्म बढ्ने उनले बताए ।
४५ देखि ५० हजार रुपैयाँ प्रतिबिघा वार्षिक भाडा तिर्ने गरी ४ बिघा जग्गा भाडामा लिएर २ जना कामदार राखेर बाख्रा पालन गरिरहेको उनीहरूले बताए । बोयर जातको बोका र लोकल जातको बाख्राबाट जन्मिएका पाठापाठीलाई प्रति किलो २ हजार रुपैयाँका दरले बेच्ने गरेको उनीहरूले बताए ।
मासु उत्पादन बढाउन तथा मासुमा आत्मनिर्भर हुनका लागि पछिल्लो समयमा बोयर जातका बाख्रा नेपालमा भित्रिन थालेका छन् । छोटो समयमै राम्रो मासु उत्पादन हुने भएपछि बोयर जातका बाख्रा नेपालमा भित्रिन थालेका हुन् ।
यसैबीच, बेलबारी नगरपालिकाले किसानलाई बोयर जातका पाठापाठी वितरण गर्न थालेको छ । केही दिन अघि मात्रै परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्था बेलबारी–७ को सहकार्यमा ११ वटा बोका तथा ४ वटा पाठी वितरण गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाको २ लाख ५० हजार तथा सहकारीको १ लाख ८२ हजार रुपैयाँको आर्थिक सहयोगमा उनीहरूलाई पाठापाठी वितरण गरिएको हो ।