झापाः मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अहिले हरेक क्षेत्र समयमै वातावरण संरक्षणमा नलाग्ने हो भने भावी पुस्ताका लागि हामीले स्वच्छ अनि सुरक्षित समाज हस्तान्तरण गर्न नसक्ने बताएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा बुधबार धुलाबारी खानेपानी उपभोक्ता समितिले मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको वक्तृत्वकला तथा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आचार्यले उक्त कुरा बताएका हुन् । उनले वातावरण विनाशको प्राथमिक कारण पत्ता लगाएर समाधानतर्फ लाग्नसमेत जोड दिए ।

संस्थाका अध्यक्ष अजय घिमिरेले कार्यक्रमको सभापतित्व गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उनले अब वातावरणको संरक्षणमा लागेको सरकार र यसको क्षेत्रमा सक्रिय सङ्घ संस्थाको मुख ताक्नुभन्दा आफैँ लागेर आफ्नो गाउँ, टोल अनि समाजलाई वातावरणमैत्री बनाउन जोड दिए ।

प्लाष्टिकको प्रयोग तथा जताततै फोहोरमैला फ्याँक्ने, अव्यवस्थित रूपमा डढाउने कार्य बन्द गरी बोटबिरुवा रोप्न र रोपिएका बिरुवाको संरक्षण गर्न उनले सबैमा आग्रह गरे ।

सोही अवसरमा संस्थाले अन्तर माविस्तरीय ‘स्वस्थ पानी, स्वस्थ जीवन’ विषयक वक्तृत्वकला प्रतियोगितामा आयोजना गरेको थियो । प्रतियोगितामा प्रशिष ढुङ्गेल पहिलो, अमिसाराज निरौला दोस्रो तथा मेलिना खनाल तेस्रो भए । उनीहरूले क्रमश २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नगरका ११ वटा विद्यालयबाट २२ जनाले सहभागिता जनाएका थिए ।

संस्थाका सचिव कञ्चन तामाङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष चेतराज बिष्टले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व तथा निवर्तमान अध्यक्ष, जनप्रतिनिधिसहित उद्योगी व्यवसायीको सहभागिता रहेको संस्थाका लेखापाल अरुण साहले बताए ।