इटहरीः मोरङको सुन्दरहरैंचानिवासी एक खुट्टाले नृत्य गर्ने चर्चित कलाकार नीलम ढुङ्गाना बेलायत पुगेकी छिन् ।आगामी सेप्टेम्बर १ अर्थात् भदौ १६ गते हुने ‘डिसाबिलिटि एड इभिनिङ’मा सहभागी हुन ढुङ्गाना बेलायत पुगेकी हुन् । बेलायत पुगेको जानकारी उनले आफ्नो फेसबुक पोस्टबाट सार्वजनिक गरेकी छिन् ।

पहिलो पटक कार्यक्रमको लागि बेलायत पुगेकी ढुङ्गानालाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । ढुङ्गानालाई स्वागत गर्न एनआरएनए बेलायतका पदाधिकारी विमानस्थलमै पुगेको बेलायतबाट प्रकाशित नेपाली भाषाको अनलाइन लन्डन नेपाल न्युज डटकमले जनाएको छ ।

अपाङ्गता भएकालाई सहयोग जुटाउन गरिएको कार्यक्रममा चर्चित बेलायती अभिनेतृ लोआना लुम्ले प्रमुख अतिथि हुनेछिन् । बेलायतको लन्डन शहरस्थित अल्डरसटको अम्पायर हलमा हुने कार्यक्रममा ६ सय सहभागी हुने आयोजक गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले मिडियामा बताएका छन् । Nilam Dhungana