विराटनगरः करिब १० वटा गाडीमा सवार लिम्बुुवानका कार्यकर्ता प्रदेश १ को संसद भवन नजिक उत्रेपछि माहोल एकाएक तात्यो । सोमबार २ बजे लिम्बुुवान सम्बद्ध समर्थकहरू लिम्बुुवान प्राप्तिको माग राख्दै संसद भवननजिकै धर्ना बसे ।
बेलुका साढे ४ बजेसम्म जारी रहेको धर्नामा प्रदेशभर एकद्वार कर प्रणालीदेखि मुख्यमन्त्रीको राजीनामा सम्मका माग राखियो । सङ्घीय लिम्बुुवान मञ्च नेपालको आयोजनामा भेला भएका लिम्बुुवान समर्थकले प्रदेश १ को नाम सगरमाथा, कोशी वा विराटनगर राखे ठूलो भुल हुने चेतावनी समेत दिए । उनीहरूले यी नाम राख्नुभन्दा प्रदेश १ नै उत्तम विकल्प हुने बताउँदै आएका छन् ।
मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश भित्रका हरेक स्थानीय तहमा फरकफरक करप्रणाली रहेको भन्दै यसले जनतालाई ठूलो भ्रम पैदा भएको बताए । उनले प्रदेश सरकारले जनताको ढाड सेक्ने गरी लगाएको करमा एकरूपता ल्याउन स्थानीय सरकारले पहल गर्नुुपर्ने बताए ।
त्यस्तै, लिङ्देनले मुुख्यमन्त्री शेरधन राईको राजीनामाको माग पनि गरेका छन् । प्रदेश सरकारको निर्णय अवज्ञा गर्ने कर्मचारीलाई कारवाही गर्न नसकेको भन्दै कमजोर निर्णय क्षमता रहेका मन्त्री राईको राजीनामा माग गरिएको उनको दाबी थियो ।
उनले प्रदेश १ लाई लिम्बुुवान र किरात, खम्बुवान नामकरण गर्नुपर्ने भन्दै पहिचानको आन्दोलनलाई सम्बोधन हुने नाम नभए आन्दोलनको आँधीबेरी ल्याउने चेतावनीसमेत दिए ।