विराटनगरः प्रदेश १ का मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मकर खड्कादेखि सभामुख प्रदीप भण्डारीका स्वकीय सचिव एकराज दाहालसम्मको जागिर धरापमा परेको छ । अनेरास्ववियुको स्थायी समितिले हालै गरेको एक निर्णयले उनीहरूको पद धरापमा परेको हो ।
अनेरास्ववियु स्थायी समितिले स्वकीय सचिव हुनेहरूले कि अखिल कि पद छाड्नुपर्ने निर्णय यही भदौ ९ गते गरेपछि यस्तो स्थिति उत्पन्न भएको हो ।अनेरास्ववियुको नयाँ निर्णयले प्रदेश १ का धेरै अनेरास्ववियु नेता समस्यामा परेका छन् । अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु यादव पनि प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतका प्रमुख स्वकीय सचिव छन् । अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोग अध्यक्ष तुलसी मैनाली संघीय अर्थमन्त्री युवराज खतिवडाका प्रमुख स्वकीय सचिव छन् ।
यसैगरी, मेयर, उपमेयर, प्रदेश सांसदका स्वकीय सचिव भएर राज्यको तलब सुविधा लिनेलाई पनि समस्या भएको देखिएको छ ।
अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले अनेरास्ववियुलाई फुल टाइम दिने नेताको खडेरी भइरहेको अवस्थामा यो निर्णयले सहयोग गरेको बताए । सङ्गठनको हितको लागि निर्णय भएकैले सर्वसम्मत निर्णय भएको बताउँदै आलमले आफू पनि सङ्घीय मन्त्रीको स्वकीय सचिव भएर काम गर्दा अखिलमा समय दिन नसकेको बताए ।
उनले भने, ‘अब सङ्गठन कि लाभको पद के लिने भन्नेमा छनोट गर्नुपर्ने भयो । राजनीति गर्नेले स्वकीय सचिव पद छाड्नुहुन्छ । जागिर गर्नेले अनेरास्ववियु छाड्नुहुन्छ ।’