आज गाईजात्रा
आज गाईजात्रा । तिथिअनुसार मनाइने गाईजात्रा जनै पूर्णिमाको भोलिपल्ट पर्छ । नेवारी समुदायमा प्रचलित यो जात्रामा वर्ष दिनभित्रमा दिवङ्गत आफ्ना पितृको स्मरण गर्ने गरिन्छ । आजको दिन सडकमा गाई अथवा गाईकै भेषमा विभिन्न मुकुन्डोसहितका झाँकी प्रदर्शन गरिन्छ । गाईजात्रामा विभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसनसमेत गरिन्छ । यसरी जात्रा मनाउँदा मृतकका परिवारलाई सहानुभूति मिल्ने विश्वास गरिन्छ ।

जात्राको प्रचलन
विक्रम संवत् १६४१ देखि १६६४ सम्म राजा प्रताप मल्लले शासन गरेका थिए । सोही समयमा उनका नाबालक छोराको मृत्यु भयो । छोराको निधनले परेको शोकका कारण रानी विक्षिप्त बनिन् । मृत्युलाई सामान्य रूपमा लिनुपर्ने र मृतककै नाममा चिन्तित भएर आफ्नो स्वास्थ्यलाई असर पार्न नहुने भनी राजाले बारम्बार सम्झाए पनि रानीले नमानेपछि राजाले एउटा जुक्ति निकाले । सो जुक्ति नै प्रचलनको रूपमा स्थापित भएर गाईजात्रा मनाउन थालियो ।

राजाको जुक्ति
रानीले पुत्रवियोग बिर्सन नसकेपछि राजा प्रताप मल्लले १ वर्षभित्र आफन्त मरेका हरेक घरका मानिसले जात्रा निकाल्नुपर्ने उर्दी जारे गरे । राजाको उर्दी मान्दै तत्कालीन काठमाडौं राज्यका बासिन्दाले दिवङ्गत व्यक्तिको सम्झनामा जात्रा निकाले । सो नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । जात्रा हेरेपछि आफूलाई जस्तो वियोगको पीडा धेरै परिवारलाई परेको रहेछ भन्ने रानीले बुझिन् । शोकमा परेका व्यक्तिले वियोगमा छट्पटिनु मात्रै हुँदैन । सहज जीवन जिउनुपर्छ भन्ने सन्देश दिन राजाले उक्त जात्रामा विभिन्न हाँसो मजाक, चटक, व्यङ्ग्य र ठट्टा पनि प्रदर्शन गर्न अनुमति दिनुका साथै प्रोत्साहन गरे । त्यस्ता प्रदर्शनकै कारण लामो समयपछि रानी खित्का छोडेर हाँसेको र पीडालाई बिर्सँदै गएको बताइन्छ । त्यसपछि हरेक वर्ष गाईजात्रा मनाउने प्रचलनले व्यापकता पायो ।

गाईजात्रामा व्यङ्ग्य
हाँसो मजाक र व्यङ्ग्य गर्ने क्रममा पछिल्लो समयमा राजनीतिक विकृतिमाथि व्यङ्ग्य गर्ने क्रम बढेको छ । पहिले समाजका धनी व्यक्तिमाथि गरिने यस्तो छेडछाड पछिल्लो समय र विशेष गरी पञ्चायती शासनकालमा राजनीतिक विकृतिमाथि प्रहार गर्ने क्रम बढेको पाइन्छ । आजकाल पनि सरकार तथा सामाजिक विकृति र विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने दिनको रूपमा गाईजात्रालाई लिने गरिन्छ । हास्यकलाकारले विकृति र विसङ्गतिमाथि आधारित भएर विभिन्न प्रहसन तथा व्यङ्ग्य गर्ने दिनको रूपमा गाईजात्रालाई लिएको पाइन्छ । गाईजात्राले चाडपर्व नजिकिँदै गरेको सङ्केत पनि गर्दछ ।

हेर्नुस् तस्बिरमा ...
तस्बिर: उपेन्द्र चाम्लिङ

    20180827_095710 20180827_095506