तस्बिरः लक्ष्मण थापा
धरानः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टीभीको आयोजनामा भइरहेको प्रदेशस्तरीय एसईई स्टेट–१ आइडलको चौथो चरण (मेघा राउण्ड) को अडिसन शनिबार सम्पन्न भएको छ ।
धरान–९ पुतलीलाइनस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न चौथो चरणको अडिसनबाट २१ जना सहभागीमध्ये उत्कृष्ट १० जना अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका छन् । छनोटमा पर्नेहरूमध्ये सुनसरीबाट आस्था विश्वकर्मा, नवीन दर्नाल, तुलसा राई र गौरव राई रहेका छन् ।
त्यस्तै झापाबाट मिङसोहाङ केरुङ, धनकुटाबाट दीपकृत मगर र रश्मी शेर्पा रहेका छन् । तेह्रथुमबाट निशा श्रेष्ठ, रोहण श्रेष्ठ र मोरङबाट राज लोहार विश्वकर्मा रहेको इभेन्ट म्यानेजर तीर्थ कार्कीले जानकारी दिए । अन्तिम प्रतिष्पर्धा आगामी जेठ २४ गते शुक्रबार धरान सभागृहमा हुने आयोजकले जनाएको छ ।
उत्कृष्ट १० का लागि भोटिङ खुला गरिएको छ । अन्तिम प्रतिष्पर्धाका लागि निर्णायकबाट ७५ प्रतिशत र भोटिङबाट २५ प्रतिशत निर्धारण गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, एउटा गीत रेकर्डिङ, एउटा म्युजिक भिडियो र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए ।
त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार, विभिन्न आकर्षक पुरस्कार, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले नगद २० हजार, अन्य आकर्षक पुरस्कार र प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पाउने अध्यक्ष तुम्बापोले बताए ।
विजेता, दोस्रो र तेस्रो हुनेका लागि अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले धरानमा नवोदय र यु.एन. कलेज, विराटनगरमा अरनिको कलेज, इटहरीमा नमूना कलेज, बिर्तामोडमा मनकामना कलेज, दमकमा झापा मोडल कलेज, पथरीमा एभरेष्ट कलेज र काठमाडांैमा जेभियर इन्टरनेसनल कलेज रहेको तुम्बापोले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा प्राश्ना शाक्य, राम धामी र विनायक राई रहेका छन् ।