इलामः अघिल्लो आइतबार फिक्कलबाट आफ्नो पिकअपमा सामान लोड गरेर नयाँबजार हिँडेका चालक कमल घले ३१ घण्टापछि मात्र आफनो गन्तव्यमा पुगे ।
पिकअपमा उनीसँगै २ जना व्यापारी निमतेन्जी शेर्पा र डंगी लामा पनि थिए । चालक घलेले उन्नति समावेशी आयोजना अन्तर्गत निर्माण भएको फिक्कल– गुप्ती– नयाँबजार सडकमा गाडी फसेपछि २ घण्टा लाग्ने बाटो काट्न ३१ घण्टा लागेको बताए ।
घले मात्र होइन अहिले फिक्कल–नयाँबजार सडक निर्माण कार्यले गति नलिँदा इलामको माइजोगमाइ गाउँपालिका र आसपासका बासिन्दाले सास्ती बेहोर्नुको विकल्प छैन । वृद्ध अवस्थाका निमतेन्जी शेर्पाले यो सडक कालोपत्रे भएको देख्ने इच्छा नै मर्न थालेको बताए । उनले भने, ‘सडक बनेर सहज रूपमा आवतजावत गर्न पाइन्छ भन्दाभन्दै बुढेसकालले छोइसक्यो तर सडक बनेन ।’

ilam sadak (2)
ट्रयाक खनिएको ६५ वर्षपछि स्तरोन्नति शुरु भएको इलामको फिक्कल–नयाँबजार सडक अलपत्र परेपछि उत्तरपूर्वी इलामका बासिन्दा बर्खायाममा सास्ती खेप्न बाध्य छन् ।
जेठ महिनादेखि सडक अवरुद्ध भएकाले यातायात सञ्चालन हुन छाडेपछि त्यस क्षेत्रका बासिन्दाले समस्या खेप्नुपरेको हो । उन्नति परियोजना अन्तर्गत १४ करोड ४६ लाख ३४ हजार रुपैयाँ खर्च गरी १६ महिनामा सक्ने सम्झौता भएको थियो । तर, निर्माण कम्पनीले आधामात्रै काम गरेपछि उक्त सडक अलपत्र परेको छ ।
सडकको आधा मात्र काम भएर अलपत्र परेपछि त्यस क्षेत्रका जनता निराश छन् । सडक बनेपछि कृषिजन्य उत्पादनले बजार पाउने र बिरामी भएर अस्पताल नपुगी ज्यान गुमाउनुपर्ने समस्या हट्नेमा स्थानीय आशावादी थिए ।
दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा १९ किलोमिटर सडकको यात्रा गर्न २ दिनभन्दा बढी लाग्न थालेको छ । स्थानीय व्यवसायी याम रसाइलीले १९ किलोमिटर दूरी भए पनि सामान ढुवानी गर्दा २ दिन लाग्ने गरेको बताए । यातायात सञ्चालन हुन छोडेपछि उक्त क्षेत्रमा घोडाबाट सामान ओसारपसार गर्नु परेको रसाइलीले बताए । उनले भने, ‘सरसामान त जसोतसो आइपुग्छ । बिरामी हुँदा अस्पताल पुग्नै नपाई मरिन्छ भन्ने पीर छ, बर्खाका ५ महिना काट्नै गाह्रो ।’
सरकारले उन्नति समावेशी परियोजनामार्फत् २ वर्षअघि सम्झौता गरेको १९ किलोमिटर लामो फिक्कल–नयाँबजार सडकको तोकिएको समयमा ५५ प्रतिशत मात्रै काम भएको छ । नागार्जुन निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडक निर्माणमा ढिलाइ भएपछि इलामको उत्तरपूर्वी माइजोगमाई र सन्दकपुर गाउँपालिकामा बसोबास गर्ने ३० हजार जनसङ्ख्या ६ दशक अघिदेखि समस्या भोग्दै आएका छन् ।

ilam sadak (3)
कल्भर्ट, नाली, ग्याबिन पर्खाल र ग्राभेलिङ गर्ने जिम्मा पाएको निर्माण कम्पनीले निर्माणको आधामात्रै काम गरेको छ । बाँकी काम कसरी गर्ने भन्नेमा सरकारी निकाय नै अलमलमा रहेको बताइएको छ । विक्रम संवत् २०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा खनिएको सडक स्तरोन्नति गर्ने काम अलपत्र परेपछि माईजोगमाई गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै कालोपत्रे गर्ने योजना अघि सारेको छ ।
गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले सो सडक कालोपत्रे गर्नका लागि प्रदेश सरकार मार्फत् २ करोड रुपैयाँ विनियोजन भएको र केन्द्रीय सरकारलाई ४० करोडको सिलिङ पेश गरिएको जानकारी दिए । अध्यक्ष राईले भने, ‘केन्द्र र प्रदेश सरकारसँग हारगुहार गरेर भए पनि सडक कालोपत्रेको काम चाँडै थाल्छौँ ।’
अध्यक्ष राईले गाउँपालिकाको केन्द्र पुग्ने सडक राम्रो नभएसम्म ग्रामीण सडक मात्र बनाएर केही नहुने भएकाले सो सडकलाई प्राथमिकतामा राख्ने बताए ।
हजारौँ पर्यटकको आवतजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौबारी नजिकैबाट सो सडक खनिएको छ ।