धनकुटाः नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति, धनकुटाको छैटौं जिल्ला अधिवेशनले विष्णु मोक्तानलाई घेदुङको जिल्ला समन्वय समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नेपाल तामाङ घेदुङ सङ्घीय समितिका सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा गंगाराम गोम्देनलाई चयन गरेको छ । सचिवमा फुर्वा घिसिङ, सह–सचिवमा धनबहादुर मोक्तान र कोषाध्यक्षमा मानवी मोक्तान चयन भएका छन् ।
१९ सदस्यीय जिल्ला समन्वय समितिको सदस्यहरूमा लाखमान घिसिङ, कुलबहादुर तितुङ, मञ्जु गोङ्वा, राम घिसिङ, कल्पना तामाङ, सञ्जीव तितुङ, गोविन्द बम्जन, साजन मोक्तान तामाङ, मनकुमारी गोले तामाङ, दिलबहादुर तामाङ, उत्तम तामाङ, मणि स्याङ्बो र टेकबहादुर घिसिङलाई चयन गरिएको छ । जिल्ला समन्वय समितिका पदाधिकारी एवं सदस्यहरूलाई घेदुङको विधान अनुसार आगामी ३ वर्षको लागि कार्यकाल हुने गरी प्रदेश घेदुङका सचिव निरेन तितुङले शपथ ग्रहण गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सुजेन्द्र गोले तामाङ, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष एवं धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र जिल्ला घेदुङका अध्यक्ष सीताराम थिङले सम्बोधन गरेका थिए । नेपाल तामाङ घेदुङका प्रदेश समितिका सचिव निरेन तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राई, एकल जातीय संस्थाहरूको तर्फबाट सरकुमारी आठपहरिया, सङ्घसंस्थाहरूको तर्फबाट अमित ल्हो तामाङ, चौबिसे गाउँपालिका घेदुङका प्रतिनिधि जीवन मोक्तान, छथरजोरपाटी घेदुङका अध्यक्ष मनकुमारी गोले तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
५ जना स्रष्टालाई सम्मान
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धनकुटाले तामाङ समुदायको भाषा, संस्कार, संस्कृति र कलालाई बचाउन योगदान गर्ने ५ जना स्रष्टालाई खादा, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा नेपाल तामाङ घेदुङ धनकुटाका संस्थापक अध्यक्ष भुवलाल तामाङ लामा, घेदुङका अध्यक्षद्वय वीरबहादुर तितुङ तामाङ, चिन्तन थिङ तामाङ रहेका छन् । त्यसैगरी, जिल्ला घेदुङका निर्वतमान अध्यक्ष स्वर्गीय कृष्ण तितुङ तामाङलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यसैगरी, स्नातकोत्तर तहमा शोधपत्र तयार गरी तामाङ समुदायका भाषा, कला, संस्कार संस्कृतिलाई अभिलेखीकरण गरेको भन्दै महालक्ष्मी नगरपालिका वडा नम्बर ५ लेगुवा निवासी गोपाल भण्डारीलाई पनि सम्मान गरिएको थियो ।