इटहरीः २० दिन अगाडि गिरफ्तार गरिएका कवि तथा पत्रकार रसुवाली कविको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । रसुवाली कविको नामले चिनिएका ठाकुर प्रसाद तिमल्सिनाको रिहाइको माग गर्दै अभियन्ताले काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

शनिबार साँझ ५ बजेपछि बबरमहलमा भएको प्रदर्शनमा मदन पुरस्कारका विजेता समेत रहेका साहित्यकार राजन मुकारुङ, कवि चन्द्रवीर तुम्बापो, केशव सिलवाल, अभियन्ता गौतम राई लगायतका अभियन्ताहरूले प्रदर्शन गरेका हुन् । ‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा’ ‘रसुवाली कविलाई रिहाइ गर’ ‘नागरिकको अभिव्यक्ति र राजनैतिक स्वतन्त्रताको हक सुनिश्चित गर’ भन्ने नारा सहितको प्लेकार्ड बोकेका थिए अभियन्ताहरूले ।

कुनै हतियार, खरखजाना वा आपराधिक गतिविधिमा संलग्न नरहेका एक शब्दकर्मीको गिरफ्तारी गणतान्त्रिक मुलुकको लागि बडो हास्यास्पद, निन्दनीय र खेदजनक रहेको भन्दै अभियन्ताहरूले तत्काल रिहाइको माग गरेका छन् ।

उनलाई राज्यद्रोहको मुद्दामा थुनामा राखिनुले नागरिकको राजनीतिक स्वतन्त्रताको हक कुण्ठित गरिएको, नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलिएको भन्दै उनीहरूले राज्यको यस्तो कदमको घोर भत्सर्ना गरेका छन् ।

rasuwali kawi 2 pradeshportal.com

रसुवाली कविलाई विप्लव निकट नेकपामा सम्बद्ध रहेको आशङ्कामा २० दिन अघि बालाजुको एक चियापसलबाट गिरफ्तार गरिएको जनाइएको छ । उनीबाट कुनै प्रकारको हतियार, आपराधिक गतिविधिमा संलग्न रहेको भने पुष्टि हुन सकेको छैन । उनको कोठा खानतलासी गरी करीब २ बोरा किताब जफत गरिएको जनाइएको छ । जसमा, माक्र्सवादी साहित्य, विभिन्न कम्युनिष्ट पार्टीहरूको दस्ताबेज रहेको बताइएको छ ।

rasuwali kawi 3 pradeshportal.com