धरानः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टीभीको आयोजनामा भइरहेको प्रदेशस्तरीय एसईई स्टेट–१ आइडलको दोस्रो चरणको अडिसन भोलि हुने भएको छ ।

१ नम्बर प्रदेशका विभिन्न जिल्लामा भएको अडिसनबाट छानिएका ६६ जना प्रतियोगीहरुले दोस्रो अडिसनमा सहभागिता जनाउने इभेन्ट म्यानेजर तीर्थ कार्कीले जानकारी दिए ।

यसअघि भएको अडिसनमा सुनसरीबाट ३६, पाँचथरबाट ७, इलामबाट ५, झापाबाट ६, धनकुटाबाट ५, तेह्रथुमबाट ५ र मोरङबाट २ जना सहभागी रहेको कार्कीले जानकारी दिए । दोस्रो अडिसन (पियानो राउण्ड)मा सबै सहभागीहरुले गितारमा गाउनुपर्ने प्रविधि व्यवस्थापक जगत राना मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, एउटा गीत रेकर्डिङ, एउटा म्युजिक भिडियो र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार, विभिन्न आकर्षक पुरस्कार, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले नगद २० हजार, अन्य आकर्षक पुरस्कार र प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पाउने तुम्बापोले बताए ।

विजेता तथा दोस्रो र तेस्रो हुनेका लागि अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले धरानमा नवोदय र युएन कलेज, विराटनगरमा अरनिको कलेज, इटहरीमा नमुना कलेज, बिर्तामोडमा मनकामना कलेज, दमकमा झापा मोडल कलेज, पथरीमा एभरेष्ट कलेज र काठमाडौंमा जेभियर इन्टरनेसनल कलेजमा छात्रवृत्ति पाइने तुम्बापोले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा प्राश्ना शाक्य, राम धामी र विनायक राई रहने बताइएको छ ।