धरानः धरान उपमहानगरपालिकाले स्थानीयसँग कुनै छलफल नै नगरी खोलाबाट ढुङ्गा, गिटी र बालुवा निकाल्न थालेपछि धरान–६ स्थित पानबारीका स्थानीय समस्यामा परेका छन् ।

धरानको वडा नम्बर ५ को अँधेरी खोला, सेउती खोला र वडा नम्बर ६ को सेहराखोलाको ढुङ्गा, गिटी र बालुवा निकाल्ने विषयमा उपमहानगरपालिकाले कुनै सल्लाह नै नगरेको बताइएको छ । धरान उपमहानगरपालिकाका नगरसभा सदस्य हरि राईले नै खोला उत्खननको विरोध गरेका छन् ।

स्थानीयवासीले संरक्षण गरेर राखेका खोलाजन्य वस्तु निकाल्ने विषयमा कुनै जानकारी नदिएको र खोला उत्खनन गर्दा हुन सक्ने खतराको समेत कुनै पर्वाह नगरेको नगरसभा सदस्य तथा धरानको वडा नम्बर ६ का स्थानीय गुनासो गर्छन् । उपमहानगरपालिकाले भने आईईई (वातावरणीय प्रभाव मूल्याङ्कन) गरेर नै उत्खनन गरेको बताउदै आएको छ ।

तर। आईईई गर्दा स्थानीयसँग पनि खोला उत्खननको विषयमा सार्वजनिक रूपमा राय लिनुपर्ने हुन्छ । तर उपमहानगरपालिकाले यस्ता कुनै कार्य नगरेको स्थानीय धनकुमार राईले बताए ।

वर्षौंदेखि स्थानीयले संरक्षण गरेको खोलाबाट ढुङ्गा, गिटी र बालुवा झिकेर बस्तीलाई जोखिमतर्फ लगेको भन्दै स्थानीयले तत्काल उक्त कार्य रोक्न आग्रह गरेका छन् ।

धरान–५ देउरालीका सन्दीप लिम्बूका अनुसार स्थानीयले संरक्षण गरेको खोलामा अहिलेसम्म ढुङ्गा, गिटी, बालुवा निकालिएको थिएन । ‘आज जनप्रतिनिधि आएर हामीले संरक्षण गरेको खोलामा मनपरी गर्न थालेका छन्’, उनले भने, ‘यो कार्यले धेरै घर जोखिममा पर्छन् ।’

उनका अनुसार ती खोला आसपासमा झण्डै ३ सय भन्दा घरको बसोबास छ । स्थानीय धनकुमार राईका अनुसार अहिले खोलाको ढुङ्गा, गिटी र बालु्वा निकालिएमा बर्खामा बाढीले बस्ती बगाउने खतरा बढेको छ ।

पानबारी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दुर्गा सिवाकोटीले सेहरा खोला नियन्त्रण नहँुदा वन क्षेत्र समेत खोलाको चपेटामा पर्ने बताए । उनका अनुसार बन क्षेत्र र पानबारीवासीले आफ्नै सक्रियता र लगानीमा बनाएको सेहरा खोलाको पुलसमेत जोखिममा पर्ने खतरा छ ।

उपमहानगरपालिकाले धरान आसपासका खोलाबाट ढुङ्गा, गिटी र बालुवा निकाल्न अप्पुश्री इन्टरप्राइजेज प्रालि धरानलाई एक करोड ७ लाखमा ठेक्का दिएको छ ।

‘सेटिङमा ठेक्का’
धरान उपमहानगरपालिकाले धरानको आसपासका खोलाबाट नदीजन्य वस्तु निकाल्न सेटिङ मिलाएर धरानको अप्पुश्री इन्टरप्राइजेज प्रालिलाई ठेक्का दिएको छ ।

उपमहानगरपालिकाको कर्मचारी स्रोतका अनुसार अप्पुश्री इन्टरप्राइजेजले उत्खनन गरेको क्षेत्र चुरे क्षेत्र हो । तर उपमहानगरपालिकाले चुरेक्षेत्र होइन भन्ने पत्र ल्याएर अप्पुश्रीलाई ठेक्का दिएको छ ।

‘अप्पुश्रीबाट केही आर्थिक लाभ लिइएर उसलाई ठेक्का दिइएको छ,’ स्रोतले भन्यो, ‘अब दिनेले दिएँ भन्दैन, लिनेले लिएँ भन्दैन । तर, लेनदेन नभई यो ठेक्का दिइएको नै होइन । शुरुमा अप्पुश्रीले ठेक्का पारेको ठाउँ चुरे क्षेत्र हो भनेर यसअघि ठेक्का लगाइएको थिएन । अहिले आएर चुरेक्षेत्र होइन भन्ने पत्र तयार भएछ । यहाँ आर्थिक चलखेल भएन भन्ने कुरै रहँदैन ।’

अप्पुश्री इन्टरप्राइजेजका सञ्चालक मुकुन्द कटुवालले भने उपमहानगरपालिकाले चुरेक्षेत्र होइन भनेरै ठेक्का दिएको बताए ।अप्पुश्री इन्टरप्राईजेजका मुख्य सञ्चालक भने धरानका व्यापारी गोपाल श्रेष्ठ हुन् । श्रेष्ठले खोलाको विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

यस विषयमा बुझ्न धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।