इटहरी: कोरियाली धर्म प्रचारकका कारण इटहरीका धेरै परिवारको बिल्लीबाठ भएको छ । भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक ‘सङ जाहान’का कारण परिवारको बिचल्ली भएको बताइएको छ ।

‘वी लभ यु’ फाउन्डेसनको नाममा नेपाल छिरेका उनी इसाई धर्म प्रचारमा सक्रिय छन् । विभिन्न पूर्वाधार निर्माण गर्ने उद्देश्यले नेपाल छिरेका उनी सो संस्थाको नेपाल प्रमुख भएर काम गरिरहेका छन् । हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियुन)’ मार्फत् उनी धर्म प्रचार गरिरहेका छन् ।

तिनै कोरियालीको निर्देशनमा इटहरी– २ की अनु राईलाई घरमै गएर कुटपिट गरेपछि परिवारको बिचल्ली पारेको रहस्य बाहिर आएको हो । गत शनिबार उनै ‘सङ जाहान’को नेतृत्वमा गएको टोलीले उनीमाथि कुटपिट गरेको थियो । कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार किटानी जाहेरी दिएका थिए । तर प्रहरीले उनलाई अझैसम्म पक्राउ गर्न सकेको छैन ।

यसरी शुरु भयो घटना
२०६३ सालदेखि इसाई धर्म अवलम्बन गरेका हुन् अभिषेक कार्कीले । मुक्तिको आशमा धर्म परिवर्तन गरेका उनी अहिले घर न घाटको भएको गुनासो गर्छन् । २०६३ देखि नै धर्म प्रचारमा सक्रिय रहेका उनलाई तिनै धर्म प्रचारकले बिल्लीबाठ पारेका हुन् ।
सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै परिवार नियोजन गर्न लगाएर निःसन्तान बनाउन खोजेको उनी बताउँछन् । तिनै कोरियालीले अब सन्तान जन्माउन नहुने भन्दै परिवार नियोजन गर्न लगाएको र आफूले विराटनगरको मेरी स्टोप्स सेन्टरमा पुगेर परिवार नियोजन गरेको उनको भनाइ छ । पछि तिनै इसाई धर्मका पादरीहरूले श्रीमान्ले परिवार नियोजन गरेपछि कसरी बच्चा जन्मियो भन्दै उनकी श्रीमतीमाथि प्रश्न गरेका थिए ।

कलिलै उमेरमा गरेको परिवार नियोजन असफल भएपछि उनको सन्तान भएको थियो । त्यति मात्र होइन उनकी श्रीमती आयुसा चौधरीका अनुसार उनलाई पनि बारम्बार गर्भपतन गर्न लगाइयो । तर पछिल्लो समय गर्भ रहेको लामो समय भएको र अस्पतालले ‘क्युरेट’ गर्न नमिल्ने बताएपछि उनको छोरा जन्मिएको हो । छोरा जन्मिने बेलामा आयुसालाई चर्चबाट बाहिर निकालियो । हाल उनको छोरा ३ वर्षका छन् । छोरो जन्मिएको ३ महिनासम्म पनि श्रीमतीलाई भेट्न नदिएको अभिषेकले गुनासो गरे ।

उनले इसाई धर्म प्रचार गर्ने क्रममा आफ्नो नामको सम्पत्तिसमेत सिध्याए । उनको नाममा आएको तालतलैयाको १ कठ्ठा जग्गासमेत बिक्री गरेको अभिषेक बताउँछन् । धर्मकै कारण बाबुसँग उनको सधँै बेमेल रह्यो । आमासँग कहिल्यै सम्बन्ध राम्रो हुन पाएन ।

अभिषेक मात्र होइन बिर्तामोडका सुनिल श्रेष्ठ पनि आफूलाई घरजग्गा बेच्न बाध्य पारिएको बताउँछन् । पीडित श्रेष्ठका अनुसार आफूलाई मन नहुँदानहुँदै तिनै कोरियालीले ‘प्रेसर’ गरेर जग्गा बेच्न लगाएर त्यसको दशांश परमेश्वरको नाममा दिनू भन्दै लगेका थिए । अर्का पीडित सूर्यमानले पनि जग्गा बिक्री गर्नुपरेको सुनाए । अर्का कोरियाली नागरिक मुन्छङजुले उनलाई जग्गा बेचाएको उनको भनाइ छ ।

पछिल्लो समय सोही धर्मका नाममा उनले केही प्रश्न गर्दा उनीमाथि धर्मविरोधीको आरोप लगाइएको थियो । ‘धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै आरोप लगाएर एक्लो बनाउन खोजियो,’ उनले प्रदेश पोर्टललाई भने । प्रश्नको सामना गर्न नसकेपछि भौतिक आक्रमणमा उत्रिएको उनी बताउँछन् । चर्चकी विश्वासी प्रमिला राईको समूहले आफूलाई आक्रमण गरेको उनले बताए ।
यता, अनु राईका श्रीमान् वीरबहादुरले पनि आफू अन्यायमा परेको बताएका छन् । उनले आफू र श्रीमतीलाई विभिन्न विषयमा मानसिक तनाव दिने गरेको गुनासो गरे ।

‘मेरो श्रीमतीलाई सन्तान जन्माउन हुन्न भन्ने बुझाइयो । सन् २०१२ मा विश्वमा प्रलय हुन्छ भन्दै एकोहोरो बनाए । त्यसपछि श्रीमतीले कहिल्यै सन्तान जन्माउन मानिनन्,’ वीरबहादुरले भने, ‘धन्न मेरो छोरी जन्मिइसकेकी थिई । नभए म निःसन्तान बन्नेवाला थिएँ । यो धर्मात्माहरूको भन्दा पनि पापात्माहरूको स्थान रहेछ ।’

त्यस्तै, अर्का एक युवाले नाम नबताउने शर्तमा भने, ‘मेरो परिवारमा पनि त्यही चर्चको कारण समस्या आइरहेको छ । आफू बाहिरै बसेर धर्ममा लाग्ने बताए पनि श्रीमतीले सधैँ चर्चमा नबसे डिभोर्स गर्ने धम्की दिँदै आएकी छिन् । अहिले पनि म उनलाई धेरै माया गर्छु तर त्यही कोरियालीले ‘कन्भिन्स’ गराएका कारण मेरो श्रीमती मबाट छुट्न चाहन्छिन् ।’

प्रहरीले पक्राउ गरेन कोरियाली धर्म प्रचारक
खुल्लमखुल्ला धर्म प्रचार गर्न नपाउने कानुनी व्यवस्था भए पनि यी कोरियालीले भने धर्म प्रचारको छुट पाएका छन् । भिजिट भिसामा १३ वर्ष अघि नेपाल आएका उनी धर्म प्रचारमा लागिरहेका छन् । धर्म प्रचारमा मात्र होइन, परमेश्वरको नाममा पैसा उठाएर कोरिया भित्र्याउने खेलमा देखिएका छन् उनी । ‘वी लभ यु’ फाउण्डेसनको नाममा नेपाल छिरेका उनी धर्म प्रचारमा सक्रिय भएका हुन् । हाल परमेश्वरको मण्डली विश्व सु–समाचार समाज (सियुन) मार्फत् उनी धर्म प्रचार गरिरहेका छन् । धर्मको प्रचार मात्र होइन नेपाली समाज विभाजन गर्नुसमेत उनको प्रमुख काम बनेको छ । उनको विरुद्धमा बोल्नेलाई मानसिक असन्तुलन भएको भनेर प्रचार गर्ने र एकअर्कामा बेमेल गराउने काम उनी गरिरहेका छन् । अभिषेक कार्कीमाथि भएको हमलाका नाइके उनै कोरियाली नागरिक रहेको स्थानीयको भनाइ छ ।

उनको नाममा इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी परिसकेको छ । तर उनी अझैसम्म पक्राउ पर्न सकेका छैनन् । सोही चर्चको गोप्य स्रोतका अनुसार उनी सोमबार मात्र काठमाडौ प्रवेश गरिसकेका छन् । पीडितले उनको नाममा जाहेरी दिँदा समेत उनी पक्राउ पर्न नसक्नु असामान्य भएको स्थानीयको भनाइ छ ।

उनलाई पक्राउ गर्नुको साटो प्रहरीले छलफलमा बसेका पीडित र पत्रकारलाई नै इलाका प्रहरी कार्यालय बाहिर निकालेको थियो । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर धनेन्द्रहाङ खजुमले रुखो स्वरमा ‘किन यहाँ बसेको बाहिर निस्कनुस्’ भन्दै बाहिर निकालेका थिए । त्यही बेला पीडितहरू प्रहरी कार्यालय बाहिर रुवाबासी गरिरहेका थिए ।

इन्स्पेक्टर खजुमका अनुसार पीडित पक्षले गालीबेइज्जतीको मुद्दा लिएर अदालत जाने भएपछि अदालतको आदेश अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने भएको हो ।

उता अर्का विश्वासी मिलन राई यो सानो समस्या भएको बताउँछन् । बरु उनै अभिषेकले परमेश्वर र चर्चको विषयमा गालीगलोज गरेको तर उनीमाथि कुनै दुव्र्यवहार नभएको उनले दाबी गरे ।