धरानः प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले जनप्रतिनिधि र जनताबीचको दूरी बढ्न नहुने बताएका छन् ।

शुक्रबार धरान उपमहानगरपालिकाको १३ नम्बर वडा कार्यालयले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सभामुख भण्डारीले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध सधै सुमधुर हुनुपर्ने बताएका हुन् । उनले जनप्रतिनिधिप्रति जनताले धेरै नै अपेक्षा राखेको हँुदा कहिलेकाहीँ आउने समस्यालाई जनतासँगै बसेर समाधान गर्न पनि आग्रह गरे ।

जनप्रतिनिधि आएपछि देशले विकासको गति लिएको भन्दै उनले सीमित स्रोत र साधनको उच्चतम प्रयोग गर्दै जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै जनजागृति समाजका अध्यक्ष प्रेम गुरुङ, अमर टोल सुधार समितिका अध्यक्ष कृष्ण लावती, समाजसेवी दिलीप श्रेष्ठलगायतले विकास निर्माणका कार्यमा सहकार्य गर्न वडावासी सधैँ तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै १३ नम्बर वडाका वडाध्यक्ष नेत्र काफ्लेले जनप्रतिनिधिले धेरै समस्या झेलेर काम गर्नुपरेको बताए । उनले प्रदेशसभाबाट बनाउनुपर्ने कानुन यथाशक्य छिटो बनाउन पनि सभामुखसमक्ष आग्रह गरे ।

पात्रो विमोचन
यसैबीच, धरान उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयले २०७६ सालको भित्तेपात्रो शुक्रबार सार्वजनिक गरेको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी र वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेले नयाँ भित्रेपात्रो संयुक्त रूपमा विमोचन गरेर सार्वजनिक गरेका हुन् ।