झापाः गैरसरकारी संस्था महासङ्घ नेपाल झापा शाखाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका १ नम्बर वडाको सभाहलमा भएको अधिवेशनमा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष हरिप्रसाद गौतमले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

सामाजिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको गैरसरकारी संस्थाहरूको छाता सङ्गठन देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हरेक आन्दोलनमा सहभागी भएको उनले बताए । गौतमले सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य पूरा गर्नसमेत गैरसरकारी संस्थाहरूको साझेदारी आवश्यकता हुने भएकाले निरन्तर स्थानीय सरकारहरूसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले गैरसरकारी संस्थाहरूले सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा सरकार तथा अन्य दाताहरूसँग सहकार्य गरी नतिजाउन्मुख कार्य गर्नुपर्नेमा जोड दिए । पोर्तेलले गैरसरकारी संस्थाहरू अपारदर्शी हुँदै गएको भन्ने हल्ला व्याप्त भएकोतर्फ इङ्गित गर्दै सबै गैरसरकारी संस्थाहरूलाई पारदर्शी ढङ्गबाट आफ्ना कार्यक्रम अगाडि बढाउनका लागि आह्वान गरे ।

केन्द्रीय सचिव तथा सञ्चार विभागका संयोजक उमेश विश्वकर्माले नागरिक सङ्गठनले सरकारलाई प्रश्न गर्नुपर्नेमा जोड दिए । तर नागरिकले गरेका प्रश्न सरकारले सुन्नेभन्दा पनि आफ्ना कुराहरू मात्र सुनाउने गरेको पीडा उनले व्यक्त गरे । सरकारलाई उत्तरदायी र जवाफदेही बनाउने कुरामा निरन्तर नागरिक समाजले खबरदारी गर्नुपर्नेमा विश्वकर्माले जोड दिए ।

गैरसरकारी संस्था महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले जनताले जिल्ला समन्वय समितिलाई ५ वर्षका लागि नियमित अनुगमन गर्नका लागि चुनेको उल्लेख गरे । यदि कुनै गैरसरकारी संस्था नियमविपरीत गएको पाइएमा कार्वाही गर्न उनले आग्रह गरे । सुवेदीले यदि कुनै गैरसरकारी संस्था नियम विपरीत अगाडि बढेको प्रमाणित भए झापा शाखाले कार्वाही गर्ने र शाखाले कार्वाही नगरे महासचिवको हैसियतले आफँैले कार्वाही गर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ध्रुवप्रसाद देवले अनेक बहानामा गैरसरकारी संस्थालाई दुःख दिने, विभिन्न किसिमका भेदभाव गर्नेजस्ता कार्य गरेको उल्लेख गर्दै सरकार गैससमैत्री हुन नसकेको बताए ।

महासङ्घको झापा शाखामा आबद्ध ८० भन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधि तथा पर्यवेक्षकसहित अधिवेशनमा उपस्थित १ नम्बर प्रदेशका इञ्चार्ज महेश्वरी राई, अध्यक्ष प्रकाश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शाखाका सचिव सोमराज ढकालले गरेका थिए ।