इलामः उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक पर्ने कानुन निर्माण गरिसकेकाले नयाँ वर्षसँगै चुनावमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने काममा सरकार लाग्ने बताएका छन् ।
शहीद रत्नकुमार बान्तवाको ४० औँ स्मृति दिवस तथा ६७ औँ जन्मजयन्तीका अवसरमा इलामको माङ्सेबुङ–१ इभाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीतिक र संवैधानिक घोषणाअनुसार कानुन निर्माण गर्ने काम भइसकेकाले अब सरकार विकास निर्माणमा केन्द्रित हुने बताए ।
मन्त्री पोखरेलले बितेको वर्ष आवश्यक कानुन निर्माण गर्ने र देश विकासको आधार तयार पार्ने कार्यमा सरकार लागेकाले विकास निर्माणका काम खासै नहुँदा सरकारको केही आलोचना हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘अब दुई तिहाईको सरकारलाई कसैले रोक्दैन र छेक्दैन पनि । हामी देश विकास र समृद्धिमा लाग्छौँ ।’ उनले शहीद रत्नकुमार बान्तवासँगै बिताएका दिनको स्मरण गर्दै देश र जनताको चिन्ता गरिरहने चिन्तकका रूपमा शहीद बान्तवालाई आफूले चिनेको बताए ।
विप्लवलाई वार्तामा आउन पूर्वसभामुखको आग्रह
कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सिके राउतजस्ता शक्तिसमेत मूलधारको राजनीतिमा आइसकेकाले अव विप्लव नेतृत्व समेत एक्लँ हिँडेर केही नहुने भन्दै वार्तामा आउन आग्रह गरे । उनले विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना अराजक गतिविधि त्यागे सरकार शान्तिपूर्ण वार्ताको लागि तयार भएको बताए ।
तत्कालीन सरकारले २०३५ साल चैत २७ गते बान्तवालाई गोली हानी हत्या गरेको स्थानमा शहीद रत्नबम प्रतिष्ठानले निर्माण गरेको शालिकको अनावरण गरिएको छ । उपप्रधान तथा रक्षा मन्त्री पोखरेल र पूर्व सभामुख नेम्वाङले संयुक्त रूपमा सो शालिकको अनावरण गरे ।
रत्नबम प्रतिष्ठानका अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमण, प्रदेश सांसद राम राना, देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेकपा इलामका अध्यक्ष भक्त केसीलगायतको उपस्थिति रहेको थियो ।