इटहरीः विवेकशील साझा पार्टीको सुनसरी जिल्ला संयोजकमा इटहरीका रामकुमार गिरी चयन भएका छन् । इटहरी–९ घर भएका गिरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । प्रदेश १ संयोजक अनिल भेटवालले गिरीलाई सुनसरी संयोजकको जिम्मेवारी दिएका हुन् ।
शनिबार भएको पार्टीको सुनसरी संयोजक घोषणा कार्यक्रममा गिरी संयोजक बनेका हुन् । उनीसँगै अन्य ५ जना सदस्य मनोनित गरिए पनि कार्यसमितिले पूर्णता पाउन अझै १ महिना लाग्ने गिरीले बताए ।
यसभन्दा अगाडि कुनै पनि राजनीतिक दलमा अबद्ध नभएका उनको यो नै पहिलो राजनीतिक जिम्मेवारी भएको बताइएको छ । अरु दलमा राजनीतिलाई पेशा बनाइएको तर विवेकशील साझा पार्टीमा राजनीतिलाई सेवाको रूपमा लिइएकाले आफूले संयोजकको जिम्मेवारी लिएको उनले बताए ।
अङ्ग्रेजीमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी एक निजी विद्यालयका सञ्चालक हुन् । नेपाल जेसीजको २०११ मा कार्यकारिणी उपाध्यक्षसम्म भएका उनी विवेकशील साझा पार्टीलाई जेसीजको जस्तै इमान्दार पार्टी बनाउन लागिपर्ने बताउँछन् ।
विवेकशील साझाले प्रदेश १ मा झापा र मोरङपछि सुनसरीमा संयोजक घोषणा गरेको हो ।