बेलबारीः विवाहित महिलाको काम के हुन्छ भनेर सोध्दा घरमा खाना पकाउने, खुवाउने छोराछोरीलाई विद्यालय पठाउने र श्रीमान्का कपडा धुने भन्ने जवाफ अहिले पनि धेरैका मुखमा आउने गर्छ ।
महिलाले आफ्नो अधिकार खोजिरहँदा समेत यस्ता जवाफ प्रशस्तै आइरहेका छन् । महिलाले पनि पुरुषसरह नेतृत्व गर्छन् भन्ने जवाफ पुरातन सोचका कारण ह्वात्तै धेरैको मुखमा आउँदैन । बेलबारी–२ की एक ग्रामीण क्षेत्रकी महिलाले यो जवाफलाई गलत साबित गरिदिएकी छिन् ।
ग्रामीण क्षेत्रका धेरै महिलाहरूले घरको काम मात्रै होइन सामाजिक, आर्थिक राजनीतिक क्षेत्रको सुधार समेत गरेका रहेछन् भन्ने उदाहरण बनेकी छिन् बेलबारी–२ की दुर्गा न्यौपाने रुपाखेती ।
उनी बिहानै उठेर घरको काम धन्दा सकेर जासगर खान समेत जान्छिन् । बेलबारी २ मै रहेको गोल्डेन फ्युचर सहकारी संस्थामा कार्यरत दुर्गा एक दर्जन जति सामाजिक संघ संस्थाको समेत नेतृत्वमा रहेकी छिन् । विभिन्न सामाजिक काम गर्दै आएकी दुर्गाले अहिले आफनै स्वर, रचना तथा सङ्गीतमा तीजको गीत नै बनाएकी छिन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर ‘नौ डाँडा पारी’ नामक तीज गीत भिडियो सहित सार्वजनिक गरेकी छिन् ।
धनकुटा जिल्लाका भेडेटार, धनकुटा, सल्लेरी, निगाले तथा मोरङका रमिते र सिंहदेवी मन्दिरमा उनको तीज गीतको छायाङ्कन गरिएको थियो । आफनै साथीसंगीले सो गीतको भिडियोमा अभिनय गरेका छन् ।
यसअघि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको ‘भड्किलो नबनाई मनाइन्छ तीज’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको थियो ।