इलामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको नेतृत्व भागवन्डा टुङगो लागेको छ । नेकपाले इलामको संघिय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानिय तहमा नेतृत्वको छिनोफानो गरेको हो । नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ ।

प्रतिनिधीसभाको दुवै क्षेत्र एमालेलाई
नेकपाको प्रतिनिधि सभाका दुवै क्षेत्रमा पुर्व एमालेको अध्यक्ष पदमा चुनिएका छन् भने प्रदेश निर्वाचनमा २÷२ वटा क्षेत्र भागवन्डा गरिएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधी एवम प्रदेशसभाको निर्वाचनमा समेत प्रतिनिधीसभाको दुवै क्षेत्रमा पुर्व एमालेका झलनाथ खनाल र सुवास नेम्वाङ बिजयी बनेका थिए । नेकपाको प्रतिनिधि सभा कमिटी क्षेत्र नं. १ मा पूर्व एमालेका नेता टेकबहादुर राई अध्यक्ष र पुर्व माओवादीका राजकुमार राई सचिव तथा क्षेत्र नं. २ मा एमालेकै ओमनारायण खनाल अध्यक्ष र कुमार बराइली सचिव चुनिएका छन् ।

प्रदेशसभा तर्फको इलाम क्षेत्र नं १ को १(क) को अध्यक्षमा माओवादी केन्द्रका कुविर राई र सचिवमा एमालेका गोपाल रिजाल, १ को २(ख) अध्यक्षमा एमालेका रत्न अधिकारी र सचिवमा माओवादी केन्द्रका श्रीमान राई, २ को १(क) अध्यक्ष एमालेका कृष्णप्रसाद श्रेष्ठ र सचिवमा माओवादी केन्द्रका धनकुमार राई र २ को २(ख) अध्यक्ष माओवादी केन्द्रका दिपक सिञ्चुरी र सचिवमा एमालेका प्रेमराज लिम्बु चयन भएको नेकपा इलामले जनाएको छ ।

सात स्थानिय तहको इन्र्चाज पुर्व माओवादी केन्द्रलाई
इलामका १० स्थानीय तह मध्ये तीन स्थानीय तहमा मात्र एमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी सात स्थानीय तहमा माओबादीका पदाधिकारी चुनिएका छन् । नेकपाको इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मात्र इञ्चार्जमा एमाले चुनिएको छ भने बाँकी स्थानीय तहहरू देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजागमाई गाउँपालिका, रोङ गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा माओबादीका पदाधिकारी इञ्चार्ज चुनिएका छन् । यस्तै ८१ वडा मध्ये ५२ वडामा पूर्व एमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी २९ वडामा पूर्व माओबादीका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् ।

यस्तो छ १० वटा स्थानिय तहको भागवन्डा
इलाम नगरपालिका
१० स्थानीय तहका पदाधिकारीमा इलाम नगरपालिकाका इञ्चार्जमा पूर्व एमालेका धिरेन चेम्जोङ, सह–इञ्चार्जमा पुर्व माओवादी केन्द्रका जीवन शर्मा ढुङ्गाना, अध्यक्षमा पूर्व माओबादीका छविलाल शर्मा र सचिवमा पूर्व एमालेका नरेन्द्र खड्का चुनिएका छन् । यस्तै नगरका १२ वडा मध्ये पूर्व एमालेका पदाधिकारी ८ वटामा अध्यक्ष चुनिएका छन् भने बाँकी चार वडामा पूर्व माओबादी केन्द्रका पदाधिकारी अध्यक्षमा चुनिएका छन् ।

सूर्योदय नगरपालिका
यस्तै सूर्योदय नगरपालिकामा पुर्व माओबादी केन्द्रका नरेश तामाङ इञ्चार्जमा चुनिएका छन् भने सह—इञ्चार्जमा पुर्व एमालेका जेबी फिलिहाङ चुनिएका छन् । अध्यक्षमा एमालेका सोनाम छिरिङ र सचिवमा माओबादी केन्द्रका घनश्याम पौडेल चयन भएका छन् । सुर्योदय नगरपालिकाको १४ वडामा ९ मा एमाले र ५ मा माओबादी केन्द्रका पदाधिकारी अध्यक्ष चयन भएका छन् ।

देउमाई नगरपालिका
देउमाई नगरपालिकामा पनि पुर्व माओबादी केन्द्रकै गोविन्द न्यौपाने इञ्चार्ज चुनिएका छन् भने सह–इञ्चार्जमा एमालेका हरिबाला राई, अध्यक्षमा एमालेका भीमलाल खनाल र सचिवमा माओबादी केन्द्रका अशोक प्रधान चयन भएका छन् । देउमाईका ९ वडा मध्ये ६ वडामा एमाले र तीन वडामा माओबादी केन्द्रका पदाधिकारी अध्यक्षमा चुनिएका छन् ।

माई नगरपालिका
माई नगरपालिकामा पुर्व एमालेका बुद्धि खनाल इञ्चार्ज, सह–इञ्चार्जमा पुर्व माओबादी केन्द्रका हरि राई, अध्यक्षमा माओबादी केन्द्रका धनकुमार लिम्बू र सचिवमा एमालेका हेम लायो मगर चुनिएका छन् । यस्तै नगरका १० वडा मध्ये ६ वडामा एमाले र ४ वडामा माओबादी केन्द्रले नेतृत्व गर्नेछ ।
माङसेबुङ गाउँपालिका
माङसेबुङ गाउँपालिकामा इञ्चार्जमा पुर्व माओबादी केन्द्रका लक्ष्मण राई, सह–इञ्चार्जमा पुर्व एमालेका किरणकुमार राई, अध्यक्षमा एमालेका हेमन्त राई र सचिवमा माओबादीका डकेन्द्र योङहाङ चयन भएका छन् । गाउँपालिकाको ६ वडा मध्ये पुर्व एमालेले ४ र पुर्व माओबादीले २ वडामा नेतृत्व गर्नेछ ।

फाकफोकथुम गाउँपालिका
फाकफोकथुम गाउँपालिकामा इञ्चार्जमा पुर्व माओबादी राजकुमार थापा, सह–इञ्चार्जमा पुर्व एमालेका धनकुमार फियाक, अध्यक्षमा एमालेका दिपेन्द्र खनाल र सचिवमा माओवादीका नन्दबहादुर राना मगर चुनिएका छन् । गाउँपालिकाका ७ वडामध्ये ४ वटामा एमाले र ३ वडामा माओबादी केन्द्रका पदाधिकारीमा चुनिएका छन् ।

सन्दकपुर गाउँपालिका
सन्दकपुर गाउँपालिकामा इञ्चार्जमा पुर्व माओबादी केन्द्रका भोजबहादुर खतिवडा, सह–इञ्चार्जमा पुर्व एमालेका बमबहादुर राई, अध्यक्षमा एमालेका प्रकाश पराजुली र सचिवमा माओबादीका जीवन शिवा रहेका छन् । ५ वडामा एउटा वडामा माओबादी केन्द्रमा अध्यक्षमा चयन भएको छ भने अन्य ४ वडामा एमालेका पदाधिकारी चयन भएका छन् । सो क्षेत्रमा माओवादी केन्द्रले स्थानिय तहको निर्वाचनमा वडा नं १ मा जितेको थियो ।

माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउँपालिकामा इञ्चार्जमा पुर्व माओबादी केन्द्रका गञ्जु प्रधान, सह–इञ्चार्ज पुर्व एमालेका याम अधिकारी, अध्यक्षमा एमालेका छिरिङ मोक्तान र सचिवमा माओबादीका देवी अधिकारी रहेका छन् । यस्तै गाउँपालिकाका ६ वडा मध्ये ४ वटामा एमाले र २ वटामा पुर्व माओबादी अध्यक्षमा चुनिएका छन् ।

रोङ गाउँपालिका
रोङ गाउँपालिकामा इञ्चार्जमा पुर्व माओबादी केन्द्रका देवकुमार राई, सह–इञ्चार्जमा पुर्व एमालेका विष्णुमाया खवास, अध्यक्षमा एमालेका वृहस्पति खतिवडा र सचिवमा माओबादीका धनकुमार नेम्बाङ रहेका छन् । गाउँपालिकाका ६ वडा मध्ये ४ वटामा एमाले र दुई वडामा माओबादीका पदाधिकारी अध्यक्ष चुनिएका छन् ।

चुलाचुली गाउँपालिका
चुलाचुली गाउँपालिकाको इञ्चार्जमा पुर्व एमालेका सफलता ओली, सह–इञ्चार्जमा पुर्व माओबादी केन्द्रका न्यूसन राई, अध्यक्षमा माओबादी केन्द्रका शुक्रबहादुर लावती र सचिवमा एमालेका विनु लावती चयन भएका छन् भने ६ वडामध्ये चार वडामा एमाले र २ वडामा माओबादी केन्द्रको अध्यक्ष चयन भएका छन् ।