पाँचथरः प्रत्येक वर्ष दशैंको नवमीका दिन प्रदर्शन गरेपछि सुब्बाहरूले पालैपालो राख्ने गरेको श्रीकम्पु र श्रीजङ्गी निशानलाई अब सङ्ग्रहालयमा राखिने भएको छ ।
याङवरक गाउँपालिका वडा नं. ४ स्थित थर्पुमा चैत १५ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको सुब्बाहरूको सम्मेलनले सो निर्णय गरेको हो । घर–घरमा निशाना राख्दा खर्च हुने गरेकाले त्यसको जिम्मेवारी लिएका लिम्बूहरूको आर्थिक अवस्था कमजोर बनाएको निष्कर्ष निकाल्दै अब सङ्ग्रहालय निर्माण गरेर सङ्ग्रहित गर्ने तयारी गरिएको स्थानीय अमर तावाले बताए ।
शाह वंशले गोर्खा राज्य विस्तार गर्ने क्रममा पूर्वमा लिम्बूहरूलाई पराजित गर्न नसकेपछि सो क्षेत्रका भूमि लगायतका अन्य व्यवस्था हेर्ने अधिकार दिने गरी सुब्बा कायम गरी निशाना प्रदान गरेको इतिहासका अध्येता चन्द्रप्रसाद योङयाले बताए । नेपालमा भूमि व्यवस्थापन गर्ने भन्दै नापी लागू भएपछि सुब्बाका ती अधिकार खोसिएकाले ती सामग्रीलाई परापूर्वकालमा जस्तो व्यवस्थापन गर्न कठिनाई भएको उनले जानकारी दिए ।
याङवरक गाउँपालिकाको थर्पुमा प्रदर्शन गरिने निशानमध्ये श्रीकम्पुतर्फ १३ थरीका २२ सुब्बा र श्रीजङ्गीतर्फ १६ थरीका ५२ सुब्बा रहेका छन् ।
नेपालका ४ जिल्लाका ८ स्थानमा त्यस्ता निशान मौलो राखिएको छ । त्यसमध्ये पाँचथरको थर्पुमा भएका निशान दुई वटा छन् । ताप्लेजुङको सिमानमा एउटा, धनकुटामा २ वटा, तेह्रथुमको सुदापमा एउटा र फाक्चामारामा एउटा राखिएको छ । पाँचथरका दुई निशानलाई श्रीजङ्गी र श्रीकम्पु नाम दिइएको छ । ती दुवैलाई हरेक वर्षको दशैंको समयमा प्रदर्शनीमा राख्ने गरिन्छ ।
श्रीकम्पु निशान राजा राजेन्द्रविक्रम शाहको शासनकालमा वि.सं. १८८० मा याङ्वरकका सुब्बा मतबलसिं माबोले बुझेको स्थानीय सुब्बाहरू बताउँछन् । श्रीजङ्गे निशान भने राजा सुरेन्द्रविक्रम शाहको शासनकालमा वि.सं. १९१२ मा सुब्बा बागदल माबोले बुझेको बताइन्छ । उक्त निशान ती सुब्बाहरूलाई मालपोत तिरो बुझ्ने अधिकारसहित शाह राजाहरूले प्रदान गरेको बताइन्छ ।
निशान प्रदर्शनका क्रममा गरिने बलि प्रथालाई पनि परिस्कृत गर्दै लैजाने विषयमा पनि सम्मेलनमा छलफल भएको थियो । छलफलमा प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ पनि सहभागी थिए ।