झापाः कुनै बेला उनको निर्देशनमा सामान्य मानिसहरूमात्र होइन चलचित्रका ख्यातिप्राप्त नायकनायिकादेखि नाम चलेका चर्चित र ठूला खलनायक चल्नु पर्दथ्यो । झण्डै डेढ दशक अघिदेखि नेपाली सिनेजगतमा देखा परेका उनै गोपाल सुब्बा अहिले अर्काको निर्देशनमा हिँडडुल र खानपिन गर्न बाध्य छन् ।

नेपाली सिनेजगतका निर्देशक विजय केरुङ, पदमसिंह गुरुङ, किशोर सुब्बा, उदय सुब्बा लगायतसँगको हेलमेल, उठबस र सङ्गतकै कारण सुब्बाले चलचित्र क्षेत्र रोजेका थिए ।
अधिकांश समय चलचित्रको छायाङ्कनस्थलमा अत्याधुनिक क्यामरामा ‘कट्, एक्सन र ओके’ भन्दै नयाँ प्रविधिमा व्यस्त रहने सुब्बा यतिखेर आफ्नै सानो घरमा लौरोको सहारामा हिँडडुल गर्दै रोगले थलिएर बसेका छन् । उनको बोली अहिले प्रष्ट रूपमा बुझ्न पनि सकिँदैन ।

पहिलो पटक नेपाली कथानक चलचित्र शहीदकी आमामा प्रधानपञ्चको भूमिकामा अभिनय गरेका सुब्बाले त्यसपछि स्वदेशको माटो, शहीदको भोलिपल्ट, माझीदाइ, आमाको काखमा, संगम लगायतका चलचित्रमा खलनायकको भूमिकामा सशक्त अभिनय गरेका थिए ।
मोटो शरीर, लामो कपाल भएका र हेर्दै खलनायक जस्तो देखिने भएकै कारण धेरै फिल्म निर्देशकहरूले उनलाई खलनायकको भूमिकामा अभिनयका लागि अनुबन्धित गर्ने गरेका थिए रे ।

बिस्तारैबिस्तारै नेपाली चलचित्रमा खारिँदै गएका यी कलाकारले पछिल्लो पटक एउटा टेलिफिल्मको द्वन्द्व निर्देशक समेत बन्ने मौका पाए । परमाणु प्रधान निर्देशित एउटा चलचित्रको उनी निर्माता समेत बने । आफ्नै लगानीमा निर्माण गरेको नेपाली कथानक चलचित्र ‘एउटै भुल’ले सोचे अनुसार नाफा कमाउन सकेन ।

प्यारालाइसिस रोगका कारण वर्षौंदेखि थलिएर झापाको मेचीनगर– ६ काँकरभिट्टाको भानु टोलमा स्वास्थ्य लाभ गरिहेका सुब्बाले अत्यन्तै मार्मिक शैलीमा भने, ‘के सोचेथँे के भयो । कल्पना पनि गरेको थिइनँ मैले बाँकी जिन्दगी यसरी बिताउनुपर्छ भनेर ।’
प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा राम्ररी चल्न नसकेकाले उनलाई यतिखेर घर भित्र र बाहिर गर्नसमेत लौरो र कसैको सहारा चाहिन्छ । ‘खोइ रोग पनि केके हो केके’, श्रीमती अनिताले भनिन्, ‘उपचार त गर्दैछु राम्रै हुन्छ होला निको भएँ भने उहाँको धोको चाहिँ नेपाली चलचित्रक्षेत्रमै काम गर्ने छ ।’
अनिता गोपालकी दोस्रो श्रीमती हुन् । पहिलो श्रीमतीको निधनपछि गोपालले अनितालाई २०४४ सालमा दोस्रो पत्नीका रूपमा भित्र्याएका थिए । उनका दुई छोरा चिरञ्जीवी र राजु सुब्बा करातेका प्रशिक्षक हुन् ।

‘शुरुमा अरुलाई निर्देशन दिनुहुन्थ्यो । आज अरुकै निर्देशनमा चल्नुपरेको छ’, अत्यन्तै भावुक मुद्रामा देखिएकी अनिताले भनिन्, ‘९० केजी तौल थियो । मोटोघाटो हृष्टपुष्ट शरीर पनि सुकेर ५०—६० केजीमा आइपुग्यो ।’ अतीत सम्झिँदा चिन्ता लागेर आउँछ रे सुब्बालाई ।

उनको बाँकी जिन्दगी चलचित्रमै रमाउने छ रे । तर पूरा हुन्छ कि हुँदैैन भन्ने सुब्बालाई थप चिन्ता पनि छ । उसबेला सामान्य यातायात मजदुरी समेत गर्दै आएका थिए सुब्बा । घरायसी समस्या टार्ने आय आर्जनको प्रमुख स्रोत उनको त्यहीँबाट आएको र चलचित्रबाट प्राप्त हुने रकम नै थियो । केही रकम बचत गरेकै कारण अहिलेसम्म दुःखसुख उपचार गर्न पुग्दैछ । यो सकिएपछि चाहिँ उपचारमा आर्थिक संकट ठुलै पर्छ होला भन्ने चिन्त सुब्बा परिवारलाई छ ।
मासिक ३ हजार रुपैयाँभन्दा बढीको औषधि लाग्ने गर्छ उनलाई । शुरुशुरुमा राजनीतिक दलहरू, यातायात मजदुरहरूले ठुलै आर्थिक सहयोग गरेका थिए रे ।

अहिले सुब्बालाई हेर्न उनको घरमा सिनेकर्मीहरू आइरहने गरेका छन् । कतिले सक्दो सहयोग समेत गर्ने गरेको उनी निकटकाहरू बताउँछन् ।