इटहरीः पछिल्लो समय फेसबुक लगायत सामाजिक सञ्जालप्रति आकर्षण बढ्दो छ । विश्वव्यापी रूपमा फेसबुकका प्रयोगकर्ता केही कम हुँदै गएका छन् । तर नेपालजस्तो विकासोन्मुख देशमा भने यसको लोकप्रियता बढिरहेको छ ।
फेसबुक, ट्वीटर, इन्स्टाग्राम, बिइच्याट लगायत सामाजिक सञ्जालमा युवाहरूको आकर्षण बढ्दो छ । बिहान उठेदेखि राती अबेरसम्म यस्तै सञ्जालमा समय बिताउने युवाहरूको सङ्ख्या बढिरहेको छ । सञ्चार र सम्पर्कको सजिलो माध्यम बनेका छन् सामाजिक सञ्जाल । केही सूचना लिने र दिनेदेखि आपतकालीन समयमा समेत प्रभावकारी देखिन्छन् यस्ता सञ्जालहरू ।
तर, यस्ता सञ्जालको फाइदाभन्दा बेफाइदा बढ्दै गएको पाइन्छ । पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासम्म यिनै सञ्जालमा मदहोस भइरहेका छन् । सामाजिक जिम्मेवारी र दायित्वभन्दा फेसबुकप्रतिको मोहले मानिसलाई एकाग्र बनाएको छ । त्यसका अलावा यस्ता छन् फेसबुक लगायत सामाजिक सञ्जालको असामाजिक असर ।
डिप्रेसन÷आत्महत्याको जोखिम
मेकयुजअफ डटकम अनलाइन पोर्टलका अनुसार हरेक दिनको २ घण्टाभन्दा बढी फेसबुक लगायतका सामाजिक सञ्जालमा बिताउने मानिस कुनै न कुनै हिसाबले मानसिक समस्याले ग्रस्त हुने गर्छन् । त्यस्ता मानिस मानसिक रोगको शिकार हुने उक्त पोर्टलको दाबी छ । बढीमा दिनको आधा घण्टामात्र सामाजिक सञ्जालमा बिताउनुपर्ने उसले सल्लाह दिएको छ ।
त्यस्तै, २०१५ मा पेउ रिसर्च सेन्टरले गरेको एक अध्ययनका अनुसार सामाजिक सञ्जाल बढी प्रयोग गर्ने मानिसहरू सामान्य मानिसको तुलनामा ५० प्रतिशत बढी तनावमा हुने गर्छन् । आफू सामाजिक सञ्जालमा बिताउने र अरुको प्रगति देखेर पनि मानिसमा तनाव वृद्धि हुने गर्छ । दिनभर यस्तै सञ्जालमा बिताउने र अन्त्यमा उपलब्धी नभएपछि बिस्तारै डिप्रेसनको सिकार बन्ने उक्त पोर्टलले दाबी गरेको छ । यसको क्रम बढ्दै गएमा आत्महत्यासम्मका घटना हुनुलाई स्वभाविक मान्न सकिने उसको दाबी छ ।
साइबर अपराधको जोखिम
आजकाल आफ्नो गोपनीयता भङ्ग हुने डर जोसुकैलाई हुने गरेको छ । प्रेमी प्रेमिका होस् या अन्य कुनै होस् सम्बन्धमा परेर गोप्य कुरा सेयर गर्ने चलन बढेको छ । तर सम्बन्धमा सामान्य समस्या आउनासाथ गोपनीयता भङ्ग हुने र त्यसैका आधारमा बारम्बार ब्ल्याकमेलिङ हुने गरेको छ । अश्लील तस्बिरहरू सामाजिक सञ्जालमार्फत् आदानप्रदान गर्ने चलन बढेको छ । सम्बन्ध सकिएपश्चात् तिनै तस्बिर बाहिर आउने भय हुन्छ । त्यही भयको फाइदा उठाउँदै अपराधीहरू सक्रिय हुने क्रम बढ्दो छ । त्यसको चपेटामा किशोरीहरू बढी परिरहेका छन् ।
अध्ययनको रुचीमा ह्रास
फेसबुक चलाउने मानिस बारम्बार त्यसैमा तल्लीन हुन खोज्छ । पारिवारिक वा अन्य व्यावहारिक काममा उसको रुची कमै हुन्छ । कतिपय गर्नुपर्ने कामहरू पनि फेसबुक चलाउने बहानामा बिर्सिने गर्छन् । पेउ रिसर्चकै अनुसार दैनिक सामाजिक सञ्जालमा रमाउने मानिसको अध्ययन र जिज्ञासुपन कम हुँदै जान्छ । त्यत्ति मात्रै होइन विद्यार्थीहरू पढाइप्रति कम जागरुक हुने अनि अध्ययनमा रुची कम हुँदै जाने उक्त पोर्टलको दाबी छ ।
इष्र्या÷ नकारात्मक सोचमा वृद्धि
फेसबुक वा ट्वीटरमा आएको एउटामात्र नकरात्मक पोस्टका कारण ५ देखि २५ जना सम्मलाई नकारात्मक सोचप्रति आकर्षित गर्ने पेउ रिसर्चले दाबी गरेको छ । एकअर्काप्रति रोष प्रकट गर्ने, आलोचना गर्ने, कसैलाई गालीगलौज गर्ने र नकारात्मक टिप्पणी गर्ने क्रम त्यत्तिकै बढिरहेको छ । उक्त पोस्टमा आएका प्रतिक्रियाले उसमाथि थप आक्रोश बढाउने गर्छ । जसको असर स्वयम्लाई जत्तिकै अन्य पाठकलाई पनि परिरहेको हुन्छ ।
हीनताबोध÷एकाग्रतामा कमी
बीबीसीको अर्को रिपोर्टका अनुसार आफ्नै साथीको प्रगति वा उसको यात्राका तस्बिरहरूलाई देखेर इष्र्याभाव जाग्रृत हुने गर्छ । जसका कारण उसले बारम्बार आफू तल परेको र साथीहरू माथि पुगिसकेको हीनताबोध गर्न थाल्छ । फलस्वरूप मनमनै इष्र्याभाव जाग्ने र नजिकका साथीसँग पनि रिस उठ्न शुरु हुन्छ । अरुको प्रगतिसँग आफूलाई तुलना गर्ने र हीनताबोधको भाव किशोर किशोरीमा बढी हुने गर्छ ।
त्यसले गर्दा उनीहरूको रुची र ध्यान अरुजस्तो कसरी हुने भन्नेतिर बढी केन्द्रित बन्ने गर्छ । अरुजस्तो बन्न नसक्दा वा आफू कमजोर भएको महसुस भएपछि एकाग्रता गुम्दै जान्छ । त्यसैका कारण पारिवारिक बेमेल र झगडा शुरु हुन्छ ।
कुलतमा फसिने
चुरोटखैनी खाँदा, रक्सी पिउँदा वा जुवा खेल्दा एउटा छुट्टै आनन्द आउँछ । त्यस्तो आनन्द फेसबुकमा लाइक कमेन्ट आउँदा पनि हुन्छ । कसले लाइक ग¥यो कसकसले कमेन्ट गरे । भन्ने विषयले धेरै कौतुहलता पैदा गर्छ । सन्तुष्टि मिलेको अनुभूति हुन्छ । क्षणिक शान्ति मिलेझैँ आभास हुन्छ । त्यस्तो अनुभूति दिलाउने हार्मोन ‘डोपामिन’ हो । यो उत्सुकता, उत्साह अनि सन्तुष्टि दिलाउन पनि हाम्रो शरीरबाट ‘डोपामिन’ नामको रसायन निस्केको हुन्छ ।
केही अनुसन्धानकर्ताले ट्वीट गर्ने बानी चुरोट वा रक्सी खाने बानीभन्दा कडा लत हुने बताएका छन् । जसरी जुवातास खेल्ने, रक्सी पिउने र खैनी चुरोट खानेहरू नसामा फस्छन् त्यस्तै गरी फेसबुक र ट्वीटर चलाउनेहरू नसामा फसिसकेका हुन्छन् । जुन अरु नसाभन्दा धेरै भयानक हुने अनुसन्धानकर्ताको दाबी छ ।
सामाजिक सञ्जालले सामाजिक सम्बन्धहरू धरापमा पारिरहको छ । नजिकका छिमेकी र नातागोतासँगको सम्बन्ध क्षीण बन्दै गएको छ । एउटै परिवारमा पनि आआफ्नो स्मार्टफोनमा व्यस्त भएर कुराकानी हुँदैन । .श्रीमान्श्रीमतीबीचमा पारिवारिक बातचित हुँदैन । आफन्तसँग भन्दा अपरिचितसँगको अन्तरक्रिया बाक्लो हुन्छ । बोलचाल र नियमित सम्पर्कको अभावमा पारिवारिक सम्बन्धहरू धरापमा पर्ने क्रम बढिरहेको छ । जुन शहर बजारमा मुख्य समस्याको रूपमा देखा परिसकेको छ ।