इटहरी/ इटहरीमा रहेर १ दशकअघिदेखि लोक सङ्गीतको क्षेत्रमा योगदान दिइरहेका गायिकाद्वय गंगा गौतम र अञ्जु गौतमका छुट्टाछुट्टै २ वटा एल्बमको शनिबार विमोचन गरिएको छ ।
तीजका गीत समेटिएका दुवै गायिकाका एल्बम लोकगायिका लोचन भट्टराईले विमोचन गरेकी हुन् । गंगा गौतमको एल्बम ‘झल्को’ र अञ्जु गौतमको एल्बम ‘श्रृंगार’ एक कार्यक्रमका बीच भट्टराईले विमोचन गरेकी हुन् ।

gautam album (2)
कार्यक्रममा विमोचित दुवै एल्बमको बारेमा लोक गायक बालकृष्ण कार्की र साहित्यकार मनु मञ्जिलले समीक्षा गरेका थिए । समीक्षक दुवैले गौतमद्वयका गीतले तीजको वास्तविक अर्थ समेटेको बताएका थिए ।

कार्यक्रममा मायाघर नेपालकी अध्यक्ष राधिका दासी, अञ्जु गौतमका बाबु, गंगा गौतमकी आमालगायतले आफ्ना धारणा राखेका थिए ।
गायक बालकृष्ण सिग्देल, बालगायक प्रोजेश कार्कीलगायतले साङ्गीतिक प्रस्तुति दिएको कार्यक्रममा एक खुट्टाले नाच्ने चर्चित नृत्याङ्गाना नीलम ढुङ्गानाले आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा गायिकाद्वयले एल्बममा भएका आफ्ना गीत ट्रयाकमा गाएका थिए भने ती गीतको भिडियो पनि देखाइएको थियो ।
स्थानीय कलाकार लिएर इटहरी आसपासकै परिवेशमा गीतको अधिकांश भागको रेकर्डिङ गरिएको गायिकाद्वयले बताए ।


गन्धर्वलाई सहयोग
लोप हुन लागेको सारङ्गी बाजाको संरक्षणमा लागेका गायक सुरेश गन्धर्वको उपचारको लागि कार्यक्रममा सहयोग जुटेको थियो । गायिकाद्वयले गन्धर्वलाई प्यारालाइसिस भएको हुनाले उनी हिँडडुल गर्न नसक्ने जानकारी गराएका थिए । आफूहरूले सहयोग रकम सङ्कलन गरेको जनाएपछि कार्यक्रममा उपस्थित सङ्गीतप्रेमीले पनि सहयोग रकम प्रदान गरेका थिए ।
साहित्यकार मनु मञ्जिलले ५ हजार रुपैयाँ तथा गायक बालकृष्ण सिग्देलले २ हजार रुपैयाँ सहयोग रकम प्रदान गरेका थिए । अन्य व्यक्तिले पनि सहयोग रकम प्रदान गरेका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।