इटहरीः आज इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर्समा बेलाबखत हुनेजस्तै एकल कविता वाचन कार्यक्रम आयोजना भएको थियो । दिउँसो ४ बजेपछि भएको एकल कविता वाचन कार्यक्रम भने अरू बेलाको जस्तो थिएन । कारण– कविता सुन्न पैसा लाग्थ्यो । एक सय रुपैयाँ टिकम काटेर सुन्न पाइने इटहरीका कवि बद्री भिखारीको कविता सुन्न सयौँ दर्शक र साहित्यप्रेमी आएका थिए ।

गोरखा डिपार्टमेन्ट स्टोर्सको सेमिनार हलमा कुनै कुर्सी खाली थिएनन् । कुर्सी नपुगेर दर्जन बढिले उभिएरै हेरे । निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति सुनसरीको आयोजनामा भएको कविता कार्यक्रममा उपस्थित दर्शकको भिड देखेर धेरै चकित भए । चकित हुनेमा कवि मनु मन्जील पनि थिए । कार्यक्रममा कवि भिखारी बारेमा बोलेका कवि मनु मन्जीलले भने, ‘मैले इटहरीमा विगत २२ वर्षमा पहिलोपल्ट कविता सुन्न यस्तो भिड देखेँ ।’

कवि मनु मन्जीलको भने जस्तै धेरैले कविता वाचनमा चासो देखाएको बताए कार्यक्रममा परिकल्पनाकार तथा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य प्रकाश राईले । ‘हामीले पहिलोपटक यस्तो साहित्य बारेको कविता वाचन सङ्गठनको तर्फबाट गरेका थियौँ’, कार्यक्रम बारेमा बोल्दै राईले भने, ‘तर हाम्रा सय रुपैयाँ गोटाका ४५० वटा टिकट सबै सकिए ।’

kawi bhikhari 2

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समितिका अध्यक्ष भवानी धमलाले पनि कार्यक्रम धेरै सहभागिता भएको बताए । उनले भने, ‘कवि भिखारीको कविता सुन्न यत्ति मान्छेको उपस्थितिको हामीले कल्पना गरेका थिएनौँ ।’

४५ मिनेटमा १६ वटा कविता सुनाएका कवि भिखारीले ‘नागरिकता’, ‘छ्या काठमाडौँ’, ‘ऐना’, ‘तिमीले राम्रो भनेपछि’ लगायत शिर्षकका कविता सुनाएका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती प्रमुख अतिथि रहेको कार्यक्रममा प्राज्ञ तथा कवि विवश पोखरेल, कवि मनु मन्जील, प्राडा भीम खतिवडाको उस्थिति रहेको थियो । यस्तैगरि, कविहरू देवान किराँती, सुभलक्ष्मी लम्साल, सीमा आभास,दीपक सन्चु, टीका आत्रेय पौडेल, रमेश सायन, नाट्य निर्देशक सोनु जयन्ती लगायत कवि साहित्यकार तथा साहित्यप्रेमीहरूको बाक्लो उस्थिति रहेको थियो ।

kawi badri bhikhari 4