झापाः कला साहित्य उत्सवको चौथो संस्करण शुरु भएको छ । विगत केही वर्षदेखि मेचीनगर केन्द्रित भएर विभिन्न साहित्यिक, सामाजिक र सांस्कृतिक विषयमा रिडर्स झापाले गहन छलफल र उपयोगी अन्तरक्रिया सञ्चालन गर्दै आएको छ ।

पठन संस्कृतिको पक्षमा उभिएका झापाका उत्साही युवाले जन्माएको रिडर्स झापाले आयोजना गरेको उत्सव ३ दिनसम्म चल्ने छ । मेचीनगर—६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको परिसरमा शुरु कार्यक्रमको उद्घाटन संगीत स्रोताले रचना गरेको गीत अञ्जन बाबु, सौरभ मैनाली, हिमा ओली र नवीना ओलीले गाएर उद्घाटन गरेका थिए ।

‘लोकतन्त्र र आलोचनात्मक चेत’ शीर्षकमा हरि शर्माले प्रवचन दिँदै लोकतनत्रमा जनता कहिल्यै थाक्न नहुने बताए । लोकतन्त्रमा जनता थाके लोक सकिएर जाने भएकाले लोकतान्त्रिक मुलुकमा तर्क, वितर्क, चर्चा परिचर्चा आवश्यक रहेको उनको भनाइ थियो । चेत र चेतना निरन्तर हुने उनले तर्क राखे ।

साहित्यको दलन शीर्षकमा युग पाठक जेबी विश्वकर्मा र सुधीर क्षेत्रीले बहस गरे । ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमा पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाले आआफ्नो विचार प्रस्तुत गरेका थिए ।

‘अभिव्यक्ति र बहिष्करण’ विषयमा अनुभव अजित, सुप्रिया मानन्धर र नयनराज पाण्डेले बहस गरेका थिए । ‘भूराजनीतिक चिन्तन’ विषयको बहसमा डाक्टर महेन्द्र पी लामा र सुधीर शर्माले विचार प्रस्तुत गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष उज्ज्वल प्रसाईले लेखेको नाटक ‘बिटुलो आख्यान’ परिवर्तन थिएटरका कलाकारले मेची सामुदायिक भवनमा रहेको परिवर्तन थिएटर नाटक घरमा प्रस्तुत गरेका थिए । वन्यजन्तु फोटोग्राफर देवेन खरेलले खिचेका चराको उत्कृष्ट फोटो प्रदर्शनी पनि उत्सवको मुख्य आर्कषणको रूपमा रहेको छ ।

देही आर्टसले चित्रकला प्रदर्शनी तथा प्रतियोगिता सञ्चालन गर्दैछ भने कार्यक्रमको अवधिभर बुकबसको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा विभिन्न स्रष्टाले कविता वाचन गरेका थिए ।

jhapaa uttsab