झापा: कला साहित्य उत्सवको चौथो संस्करण आज झापामा शुरु हुँदैंछ । विगत केही वर्षदेखि मेचीनगर केन्द्रित भएर विभिन्न साहित्यिक, सामाजिक र सांस्कृतिक विषयमा रिडर्स झापाले गहन छलफल र उपयोगी अन्तरक्रिया सञ्चालन गर्दै आएको छ ।

पठन संस्कृतिको पक्षमा उभिएका झापाका उत्साही युवाले जन्माएको रिडर्स झापाले आयोजना गरेको उत्सव ३ दिनसम्म चल्ने छ । आयोजक संस्थाका उपाध्यक्ष दामोदर ढुङ्गेलका अनुसार कार्यक्रममा साहित्यको दलन, अभिब्यक्ति र बहिष्करण, समकालीन आख्यानमा वर्ग चेतना, काव्यमा विद्रोह, विश्व विद्यालयको पुनःसंरचना, समाज विज्ञान र मानवीकिको सङ्कट विषयमा छलफल हुनेछ ।

त्यस्तै, सांस्कृतिक राष्ट्रवाद, दक्षिणपन्थको सांस्कृतिक जग, सत्ता र लेखक, दलालीको दलदल, आर्थिक समृद्धिका सङ्कट, पर्यावरणको खबर, समाचार, झुटा समाचार, खरिद समाचार र नेपालका भूराजनीतिक पहेलीलगायतका विषयमा त्यसका विज्ञहरूसँग गहन छलफल र बहस हुने बताइएको छ ।

अर्चना थापा, अमिना सिंह, सुप्रिया मानन्धर, बन्दना ढकाल, प्रणिका कोयु, सरस्वती प्रतीक्षा, डाक्टर. रेमिका थापा, सुबिना श्रेष्ठ, श्रद्धा घले, प्रत्युष वन्त, नारायण वाग्ले, शिव गाउँले, सञ्जीव उप्रेती, आहुतिले कार्यक्रममा भाग लिनेछन् ।

त्यस्तै, खगेन्द्र प्रसाईँ, राजेन्द्र महर्जन, जेबी विश्वकर्मा, युग पाठक, पुण्यप्रसाद खरेल, भाष्कर गौतम, विष्णु सापकोटा, झलक सुवेदी, महेन्द्र पी लामा, सुधीर शर्मा, अखिलेश उपाध्याय, राम कार्की, वसन्त बस्नेत र सङ्गीत स्रोता पनि बहसमा सामेल हुनेछन् ।

दीपक सापकोटा, अभय श्रेष्ठ, विनोदविक्रम केसी, सिके लाल, खगेन्द्र सङ्ग्रौला, प्रदीप गिरी, अनुभव अजित, डा. विश्व पौडेलजस्ता लेखकले आ आफ्नो प्रस्तुति दिने छन् ।

मेचीनगर—६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको परिसरमा आयोजना हुने कार्यक्रमको उद्घाटन गीतबाट हुने छ । फरक रूपमा उद्घाटन गदैं आएको कार्यक्रममा सङ्गीत स्रोताले रचना गरेको गीत अञ्जन बाबु, सौरभ मैनाली, हिमा ओली र नवीना ओलीले गाउने छन् ।

गीतपछि विद्वत् प्रवचन हुने छ । ‘लोकतन्त्र र आलोचनात्मक चेत’ शीर्षकमा हरि शर्माले प्रवचन दिने भएका छन् । साहित्यको दलन शीर्षकमा युग पाठक, जेबी विश्वकर्मा र सुधीर क्षेत्रीले बहस गर्ने छन् । यसको प्रस्तोताका रूपमा दामोदर ढुङ्गेल रहने भएका छन् ।

त्यसैगरी ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमा पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाले आआफ्नो विचार प्रस्तुत गर्ने भएका छन् भने प्रस्तोताको भूमिकामा दीपक सापकोटा मञ्चमा देखिने भएका छन् ।

‘अभिव्यक्ति र बहिष्करण’ विषयमा अनुभव अजित, सुप्रिया मानन्धर र नयनराज पाण्डेले बहस गर्ने भएका छन् । कार्यक्रम प्रस्तोताका रूपमा बन्दना ढकाल रहने भएकी छिन् । वसन्त बस्नेतले प्रस्तुत गर्ने ‘भूराजनीतिक चिन्तन’ विषयको बहसमा डाक्टर महेन्द्र पी लामा र सुधीर शर्माले विचार दिने भएका छन् ।

पहिलो दिनको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष उज्ज्वल प्रसाईंले लेखेको नाटक ‘बिटुलो आख्यान’ परिवर्तन थिएटरका कलाकारले साँझ मेची सामुदायिक भवनमा रहेको परिवर्तन थिएटर नाटक घरमा प्रस्तुत गर्ने भएका छन् ।

विद्यार्थीका लागि कविता कार्यशाला, घरबाटै इतिहास लेखन कार्यशाला सञ्चालन हुने भएको छ । यसका लागि मेचीनगर, बिर्तामोड तथा कनकाई नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई निमन्त्रणा गरिएको छ । वन्यजन्तु फोटोग्राफर देवेन खरेलले खिचेका चराहरूको उत्कृष्ट फोटो प्रदर्शनी पनि उत्सवको मुख्य आकर्षणको रूपमा रहने छ ।

देही आर्टसले चित्रकला प्रदर्शनी तथा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । कार्यक्रमको अवधिभर बुकबसको समेत व्यवस्था गरिएको छ । कविता वाचन पनि हुने बताइएको छ ।

हरेक २÷२ वर्षमा साहित्य उत्सव आयोजना गर्ने उद्घोष गरेको रिडर्स झापाले यसभन्दा अघि २०६९ फागुन २७ देखि २९ गतेसम्म कला साहित्य उत्सवको पहिलो संस्करण सम्पन्न गरेको थियो । रिडर्स झापाले २०७१ फागुन ९ देखि ११ गतेसम्म दोस्रो र २०७३ फागुन १२ देखि १४ गतेसम्म तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

यो उत्सवले स्वदेशीका साथै विदेशी र राष्ट्रिय स्तरदेखि मोफसलमा रहेर साहित्य सिर्जना गर्नेहरूका लागि पनि ढोका खुला राखेको जनाएको छ ।