झापाः झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ को तयारी भइरहेको छ । २ वर्षको अन्तरालमा रिडर्स झापाले आयोजना गर्दै आएको उत्सवमा देशभरका साहित्यकारको जमघट रहने रिडर्सका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताए ।

यही फागुन १८ गतेदेखि २० गतेसम्म हुने उत्सवमा विचारविमर्शदेखि विभिन्न साहित्यिक कार्यक्रम हुने बताइएको छ । पहिलो दिन ‘साहित्यको दलन’ शीर्षकमा युग पाठक, जेबी विश्वकर्मा र सुधीर क्षेत्रीबीच विचारविमर्श हुने भएको छ ।

त्यस्तै, दोस्रो सत्रमा ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमाथि पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाबीच बहस हुने र सोही दिन ‘अभिव्यक्ति र बहिष्करण’, ‘भूराजनीतिक चिन्तन’ मा महेन्द्र पी लामादेखि अनुभव अजितसम्मले बहस गर्ने कार्यक्रम रहेको ढुङ्गेलले बताए ।

दोस्रो दिनको पहिलो सत्रमा ‘काव्यमा विद्रोह शीर्षक’ मा अभय श्रेष्ठ, गुरुङ सुशान्त र अभयविक्रम केसीबीच छलफल हुने आयोजकको भनाइ छ । त्यस्तै, सोही दिन ‘लोक चित्रकला विमर्श’, ‘सांस्कृतिक राष्ट्रवाद’, ‘कविता वाचन’जस्ता शीर्षकमा कार्यक्रम हुने बताइएको छ ।

पाँचौँ सत्रमा ‘पर्यावरणको खबर’ शीर्षकमा श्रद्धा घले, नारायण वाग्ले र रमेश भुसालबीच बहस हुने भएको छ । त्यस्तै, ‘दलालीको दलदल’ शीर्षकमा राम कार्की, विष्णु सापकोटा र अखिलेश उपाध्यायबीच बहस र अन्तिम सत्रमा ‘दक्षिणपन्थीको सांस्कृतिक जग’मा आहुतिको एकल वाचन हुने कार्यक्रम रहेको छ ।

अन्तिम दिन, पहिलो सत्रमा ‘समृद्धि यात्राका सङ्कट’ शीर्षकमा विश्व पौडेल र खगेन्द्र प्रसाईंबीच बहस हुने भएको छ । त्यस्तै, सोही दिन, ‘समाचार, झुटा समाचार र खरीद समाचार’, ‘समाज विज्ञान र मानविकीको सङ्कट’ विषयमा बहस हुने बताइएको छ ।
पाँचौँ सत्रमा ‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’ शीर्षकमा खगेन्द्र सङ्ग्रौला र सिके लालबीच बहस हुनेछ । अर्को सत्रमा ‘पुरुषको मुक्ति कसरी’ शीर्षकमा प्रणीका कोयु, आहुति र सीमा आभासबीच बहस हुने ढुङ्गेलले बताए । अन्तिम दिनको अन्तिम सत्रमा ‘प्रेम र यौनः पहेली अनेक’ शीर्षकमा प्रदीप गिरीले प्रवचन दिने भएका छन् ।